कविता :आमा

कविता :आमा

आज हजुरको सम्झनाले
मनभित्र कताकता चिरा परेको छ—
जसलाई म शब्दले टाल्न खोज्दैछु,
तर आँसुले फेरि बगाइरहेको छ।

हजुर सानैमा एक्लिनुभएको थियो—
भावीले श्रीमान् खोसेर
जीवन अधुरो बनाइदिएको त्यो दिनदेखि,
हजुर आफ्ना लागि होइन,
हाम्रा लागि बाँच्न थाल्नुभयो।

हजुरको काखमा रोइरहेका साना छोराहरू,
र बाहिर निर्दयी संसार—
यी दुईबीच हजुर एक्लै उभिनुभएको थियो,
न आँसु देखाउने अधिकार,
न हार मान्ने छुट।

कतिपटक हजुरले भोकै रात काट्नुभयो होला,
हामीलाई एक गाँस खुवाउन…
कतिपटक हजुरले आँसु निल्नुभयो होला,
हामीलाई हाँस्न सिकाउन…

हजुरका हातका ती चिरा,
त्यो केवल श्रमका निशान थिएनन्—
ती त हाम्रो भविष्य लेखिएका रेखाहरू थिए,
जहाँ हजुरले आफ्नै जीवन मेटाउनुभएको थियो।
समाजले हानेका तीखा शब्दहरू,
दुश्मनले गरेको अन्याय,
र समयले दिएको हरेक चोट—
हजुरले चुपचाप सहनुभयो,
हामी नढलून् भनेर।

आमा,
मलाई याद छ—
हजुरले कहिल्यै आफ्नो पीडा सुनाउनुभएन,
तर रातको सन्नाटामा
हजुरको सुस्केरा सुनेको छु मैले…
आज म उभिएको छु—
सबल, सक्षम, सफल भनिन्छ मलाई,
तर यो मेरो उचाइ होइन आमा,
यो त हजुरका घुँडामा लागेको चोटको उचाइ हो।

मेरो हरेक सफलतामा
हजुरका अधुरा सपना बोलिरहेका छन्,
मेरो हरेक मुस्कानमा
हजुरले लुकाउनुभएको पीडा लुकेको छ।
आज यदि म हजुरको अगाडि उभिएर
“धन्यवाद” भन्न खोज्छु भने,
यो शब्द कति सानो लाग्छ ।
हजुरले दिनुभएको जीवनको अगाडि।

आमा…
यदि सम्भव हुन्थ्यो भने,
हजुरका ती दिनहरू म बाँच्थें,
हजुरलाई फेरि एकचोटि हँसाउनका लागि।
तर आज…
मेरो आँखाबाट बगिरहेका यी आँसुहरूले
एउटै कुरा भनिरहेका छन्—
“हजुरले हार मान्नुभएन आमा,
त्यसैले म आज उभिएको छु…”

हजुर मेरो गर्व मात्र होइन,
हजुर मेरो सम्पूर्ण अस्तित्व हुनुहुन्छ।
हजुरलाई नमन…
जीवनभर नअट्ने ऋणसहित।

माता तीर्थ औंशी तथा आमाको मुख हेर्ने दिनको सम्पूर्णमा हार्दिक शुभकामना।

(यस कविताका रचनाकार  हुनुहुन्छ टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी "मौसम")

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख
4 हप्ता अगाडि

भक्तपुर । विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर ...

छुटाउनुभयो कि ?

TOP