टोखाको ‘१०० औँ हप्ता’ सरसफाइ अभियानमा पूर्व प्रशासकीय प्रमुख बिसिदेखि पत्रकारसम्म सम्मानित, मेयर अधिकारीले गरे प्रशंसा

टोखाको ‘१०० औँ हप्ता’ सरसफाइ अभियानमा पूर्व प्रशासकीय प्रमुख बिसिदेखि पत्रकारसम्म सम्मानित, मेयर अधिकारीले गरे प्रशंसा

काठमाडौं।टोखा नगरपालिकाले नदी संरक्षण तथा सरसफाइ अभियानको १०० औँ हप्ता पूरा भएको अवसरमा अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाको आफ्नै भवनमा आयोजित विशेष कार्यक्रममा पूर्व प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, अभियानकर्मी, कर्मचारी तथा पत्रकार दिपक न्यौपानेलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले अभियानलाई यहाँसम्म पुर्‍याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै सम्मानपत्रद्वारा सम्मान गरेका थिए। उनले नदी तथा वातावरण संरक्षणको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने स्पष्ट पारे।

सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर अधिकारीले आफ्नो पहिलो र दोस्रो कार्यकालमा सम्पन्न भएका विकास निर्माण, पूर्वाधार विस्तार, वातावरण संरक्षण तथा जनसेवा सम्बन्धी कामहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनले नगरको विकास कुनै एक व्यक्ति वा राजनीतिक दलको प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, राजनीतिक दल तथा सरोकारवाला सबैको सहकार्यबाट टोखाको समग्र विकास सम्भव भएको बताए।

“हामीले पार्टीभन्दा माथि उठेर सबैलाई समान दृष्टिले हेर्दै हातमा हात र काँधमा काँध मिलाएर काम गर्यौँ। त्यसकै परिणामस्वरूप टोखा नगरपालिकाले विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ,” मेयर अधिकारीले भने।

उनले राम्रो र जनहितकारी योजना ल्याउने जोसुकैलाई पनि प्रोत्साहन गर्दै कार्यान्वयनमा लैजाने वातावरण बनाएको उल्लेख गरे। विकासका काममा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नगरवासीको हितलाई केन्द्रमा राखेको उनको भनाइ थियो।

कार्यक्रममा पूर्व प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिको विशेष प्रशंसा गर्दै मेयर अधिकारीले आफ्नो कार्यकालमा बिसिले प्रशासनिक नेतृत्वमार्फत नगरको विकास र सुशासनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले कर्मचारी प्रशासन र जनप्रतिनिधिबीच समन्वय कायम गर्दै प्रभावकारी सेवा प्रवाहमा बिसिको योगदान उल्लेखनीय रहेको बताए।

मेयर अधिकारीले नगरवासीबाट आफूलाई पुनः तेस्रो कार्यकालका लागि मेयर बन्न आग्रह आउने गरेको उल्लेख गर्दै कानुनी व्यवस्थाका कारण त्यो सम्भव नभए पनि पदमा रहँदा होस् वा नरहँदा होस्, नगरवासीको हितका लागि अन्तिम साससम्म समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
“नगरपालिकाको रकम मेयर, उपमेयर वा प्रमुख प्रशासकीय अधिकृत कसैको निजी सम्पत्ति होइन, त्यो जनताको पैसा हो। त्यसैले हामीले सधैं जनताको हित र आवश्यकतालाई केन्द्रमा राखेर खर्च गरेका छौँ,” उनले भने।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले वातावरण संरक्षण र सरसफाइ अभियानलाई संस्थागत बनाउने नगरपालिकाको प्रयास प्रशंसनीय रहेको बताए। उनले अभियानमा सहभागी सम्पूर्ण पक्षको सहकार्यले मात्रै १०० औँ हप्तासम्मको निरन्तरता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी अभियानलाई थप प्रभावकारी बनाइने बताए।

त्यस अवसरमा विभिन्न अभियानकर्मीहरूले आफ्नो अनुभव सुनाउँदै नदी सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए। उनीहरूले नागरिक सहभागिता र नगरपालिकाको प्रतिबद्धताले अभियानलाई सफल बनाएको धारणा राखे।

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वातावरण अभियन्ता, सञ्चारकर्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
11 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP