चर्चामा
काठमाडौं। भारतको उत्तराखण्डस्थित प्रसिद्ध गंगोत्री धामबाट काठमाडौंको पशुपतिनाथ मन्दिरका लागि पवित्र गंगा कलश यात्रा आजबाट सुरु भएको छ। भारत र नेपालबीचको प्राचीन सनातन धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित गंगाजलसहितको कलश यात्रा सुरु गरिएको हो।
गंगोत्री धामबाट संकलन गरिएको पवित्र गंगाजल कलशमा राखेर वैदिक मन्त्रोच्चारण तथा विशेष पूजाअर्चनासहित काठमाडौंका लागि प्रस्थान गराइने परम्परा छ। उक्त गंगाजल पशुपतिनाथ मन्दिरमा पुर्याएर भगवान् शिवको मूल शिवलिङ्गमा जलाभिषेक गर्ने धार्मिक उद्देश्य रहेको छ।
हिन्दू धर्मशास्त्रअनुसार राजा भगीरथको कठोर तपस्यापछि देवी गंगा स्वर्गबाट पृथ्वीमा अवतरण भएको मानिन्छ। गंगाको तीव्र वेगलाई नियन्त्रण गर्न भगवान् शिवले आफ्नो जटामा धारण गर्नुभएको धार्मिक मान्यता छ। यही मान्यताका आधारमा गंगोत्रीबाट ल्याइएको पवित्र जलले भगवान् शिवको प्रमुख ज्योतिर्लिङ्गका रूपमा पूजिने पशुपतिनाथको अभिषेक गर्नुलाई विशेष पुण्यदायी मानिन्छ।
गंगोत्री धामका रावल अर्थात् मुख्य पुजारी तथा तीर्थपुरोहितहरूको विशेष पूजाअर्चनापछि कलश यात्रा शुभारम्भ गरिने परम्परा छ। उत्तराखण्डका विभिन्न धार्मिक स्थल हुँदै नेपाल प्रवेश गर्ने यस यात्राका क्रममा बाटोमा पर्ने मठमन्दिर तथा धार्मिक क्षेत्रमा श्रद्धालुहरूले कलशको दर्शन र स्वागत गर्ने परम्परा रहेको छ।
काठमाडौं आइपुगेपछि पशुपति क्षेत्र विकास कोष, पुजारी तथा भक्तजनहरूको सहभागितामा धार्मिक विधिअनुसार कलशलाई पशुपतिनाथ मन्दिरमा पुर्याइने र पवित्र गंगाजलबाट भगवान् पशुपतिनाथको जलाभिषेक गरिने धार्मिक परम्परा छ।
गंगोत्री धाम र पशुपतिनाथबीचको यो धार्मिक सम्बन्धले भारत र नेपालबीच सदियौँदेखि कायम सनातन आस्था, विश्वास र सांस्कृतिक एकतालाई प्रतिबिम्बित गर्छ। गंगोत्रीबाट पशुपतिनाथसम्मको गंगा कलश यात्रालाई दुई देशका धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्ने महत्वपूर्ण आध्यात्मिक परम्पराका रूपमा लिइएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!