कात्तिक २७ मा पृथ्वी ध्वस्त हुने हल्ला निराधार, ६६ वर्ष पुरानो अनुसन्धानको गलत व्याख्या

कात्तिक २७ मा पृथ्वी ध्वस्त हुने हल्ला निराधार, ६६ वर्ष पुरानो अनुसन्धानको गलत व्याख्या

काठमाडौं। आगामी कात्तिक २७ गते शुक्रबार पृथ्वी ध्वस्त हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार रहेको छ। उक्त दिन पृथ्वी नष्ट हुने वा कुनै ठूलो खगोलीय विपत्ति आउने भन्ने दाबीलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण छैन।

यो हल्ला करिब ६६ वर्ष पुरानो एउटा वैज्ञानिक अनुसन्धानसँग जोडिएको छ। सन् १९६० नोभेम्बर ४ मा अमेरिकी वैज्ञानिक जर्नल ‘साइन्स’ मा प्रकाशित अनुसन्धानमा विश्वको जनसङ्ख्या वृद्धिको गणितीय विश्लेषण गरिएको थियो।

अनुसन्धानकर्ताहरू हाइन्ज भोन फोर्स्टर, प्याट्रिसिया मोरा र लरेन्स एमियोटले तत्कालीन जनसङ्ख्या वृद्धिको प्रवृत्ति निरन्तर रहे भविष्यमा जनसङ्ख्या असाधारण रूपमा बढ्ने प्रक्षेपण गरेका थिए। उक्त अनुसन्धानमा सन् २०२६ नोभेम्बर १३ अर्थात् नेपाली पात्रोअनुसार कात्तिक २७ गते शुक्रबारको मिति उल्लेख गरिएको थियो।

तर अनुसन्धानकर्ताहरूले उक्त दिन पृथ्वी ध्वस्त हुने वा मानव सभ्यता समाप्त हुने भविष्यवाणी गरेका थिएनन्। उनीहरूले जनसङ्ख्या वृद्धिको गणितीय प्रक्षेपणमा उक्त मिति उल्लेख गरेका थिए।

अहिले यही पुरानो अनुसन्धानलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा पृथ्वीको अन्त्य हुने दाबी फैलाइएको हो। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा कात्तिक २७ गते पृथ्वी नष्ट हुने कुनै आधार वा प्रमाण छैन।

सामाजिक सञ्जालमा फैलिने यस्ता अपुष्ट सूचनाले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले कुनै पनि दाबीलाई विश्वास गर्नुअघि त्यसको वास्तविक स्रोत र वैज्ञानिक आधार जाँच्न आवश्यक छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP