चर्चामा
काठमाडौ ।नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब एक हजार नौ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ। उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार पछिल्लो वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेकाले विद्युत् उत्पादन पर्याप्त छ। हाल प्राधिकरणसँग दुई हजार सात सयदेखि दुई हजार आठ सय मेगावाटभन्दा बढी विद्युत् उपलब्ध गराउन सक्ने क्षमता रहेको उनले बताए।
लक्ष्मीपूजाका दिन घरायसी प्रयोजनमा विद्युत् खपत बढ्ने भए पनि केही उद्योग तथा कलकारखाना बन्द रहने भएकाले समग्र माग व्यवस्थापनमा सहज हुने प्राधिकरणको अनुमान छ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग एक हजार छ सयदेखि एक हजार सात सय मेगावाटसम्म पुगेको थियो। यस वर्ष भने विद्युत् खपत बढेर करिब दुई हजार मेगावाटसम्म पुग्ने प्रक्षेपण गरिएको छ।
विद्युत् उत्पादन तथा आपूर्तिमा समस्या नदेखिए पनि अत्यधिक घरायसी खपतका कारण वितरण प्रणालीमा प्राविधिक समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ। विशेषगरी मिटर, एमसीबी, ट्रान्सफर्मर तथा ११ केभीका फिडरमा अतिरिक्त भार पर्दा विद्युत् अवरुद्ध हुन सक्ने सम्भावना छ।
सम्भावित समस्या रोक्न प्राधिकरणले वितरण केन्द्रका कर्मचारी तथा प्राविधिक टोलीलाई परिचालन गरी बढी भार भएका ट्रान्सफर्मरको व्यवस्थापन, लोड स्थानान्तरण र फिडरको प्राविधिक सुधार गरिरहेको छ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कुनै स्थानमा बढी भारका कारण विद्युत् सेवा अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। विद्युत् अवरुद्ध भएको अवस्थामा १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र सेवा पुनः सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!