‘भिंद्य’ : महाभारतका भीमसेन होइन, नेवाः सभ्यतामा जन्मिएको भलो गर्ने मौलिक शक्ति

‘भिंद्य’ : महाभारतका भीमसेन होइन, नेवाः सभ्यतामा जन्मिएको भलो गर्ने मौलिक शक्ति

पशुपति देवपतन।काठमाडौँ उपत्यका र जहाँ–जहाँ नेवार बस्तीहरू छन्, त्यहाँ व्यापार, साहस र समृद्धिको अधिष्ठाताका रूपमा ‘भीमसेन’ को पूजा गरिन्छ। तर एउटा गम्भीर प्रश्न उठ्छ—के हामीले पुज्दै आएका देवता साँच्चै महाभारतका पाँच पाण्डवमध्येका साहसी योद्धा भीमसेन नै हुन्?

ऐतिहासिक तथ्य, तान्त्रिक पृष्ठभूमि, लोकश्रुति र संस्कृतविद्हरूका विश्लेषणलाई गहिराइमा केलाउँदा एउटा रोचक र महत्त्वपूर्ण निष्कर्ष बाहिर आउँछ—नेवार समुदायले पुज्ने देवता महाभारतका भीमसेन होइनन्, बरु नेपालको माटोमा जन्मिएको मौलिक, अलौकिक र अमूर्त शक्ति ‘भिंद्य’ हुन्।

नेपाल भाषामा ‘भिं’ को अर्थ शुभ, असल वा भलो हुन्छ भने ‘द्य’ को अर्थ देवता हो। अर्थात् जसले मानिसको ‘भिं’ (भलो) गर्छ, उही ‘भिंद्य’ हो। यो शब्द आफैँमा एउटा गहिरो दर्शन बोकेको छ। महाभारतका भीमसेन आफ्नो असाधारण बल, क्रोध र युद्धकौशलका लागि चिनिन्छन्, तर नेवार समुदायले पुज्ने ‘भिंद्य’ भने शुभ, मंगल, समृद्धि र लाभका प्रतीक हुन्। यहीँबाट यी दुई पात्रबीचको मूलभूत भिन्नता स्पष्ट हुन्छ।

संस्कृतविद् ओम धौभडेलका अनुसार भिंद्य र भीमसेन छुट्टाछुट्टै अस्तित्व हुन्। प्राचीन नेवार सभ्यतामा देवता प्रायः अमूर्त थिए, जसको कुनै निश्चित मानव आकृति हुँदैनथ्यो। यसको सबैभन्दा ठोस प्रमाण दोलखाको भीमसेन मन्दिरमा रहेको शिला हो। त्यहाँ कुनै मानव आकृतिको मूर्ति छैन, केवल एउटा शिला छ, जसलाई देवत्वको प्रतीक मानिन्छ। मल्लकालमा भारतीय सांस्कृतिक प्रभाव र महाभारतका मिथकहरू बलियो बन्दै जाँदा यही अमूर्त ‘भिंद्य’ लाई महाभारतका ‘भीमसेन’ को रूपमा रूपान्तरण गर्ने प्रयास सुरु भयो।

पाटनको प्रसिद्ध भीमसेन मन्दिरसँग जोडिएको एउटा किम्बदन्तीले पनि यही संकेत गर्छ। राजा योग नरेन्द्र मल्लको पालामा कलाकारहरूले भीमसेनको मूर्ति बनाउन धेरै प्रयास गरे तर सफल हुन सकेनन्। अन्ततः राजाको रौद्र, अर्थात् रिसाएको, रूपलाई आधार मानेर भीमसेनको मूर्ति तयार पारियो। यसले के पुष्टि गर्छ भने मूर्ति पछि स्थापना भयो, तर भिंद्यको शक्ति त्यहाँ आदिम कालदेखि नै विद्यमान थियो।

पौराणिक हिसाबले हेर्दा पाण्डवहरू वीर योद्धा थिए, तर उनीहरूलाई ईश्वरको दर्जा दिइएको उल्लेख शास्त्रहरूमा भेटिँदैन। स्वर्गारोहणको कथामा समेत युधिष्ठिर बाहेक सबै पाण्डवहरूको मृत्यु भएको प्रसंग आउँछ। अर्कोतर्फ, नेवार समुदायले पुज्ने भिंद्यको स्वभाव पूर्णतः दैवी छ। 

उनी व्यापारीहरूको रक्षा गर्छन्, ल्हासा जाने व्यापारिक लस्करको सुरक्षा गर्छन् र भक्तको मनोकामना पूरा गर्छन्। तसर्थ महाभारतका पात्रसँग भिंद्यलाई जोड्नु ऐतिहासिकभन्दा बढी सांस्कृतिक अपभ्रंशको परिणाम हो भन्न सकिन्छ।

काठमाडौँको भीमसेनस्थान, नेपाल भाषामा भिंद्य त्वा, मा प्रचलित जनश्रुति अझ रोचक छ। मल्लकालमा दोलखाकी राजकुमारीसँगै आएका एक बलिया ज्यापू सेवकले छाउनी क्षेत्रका खेतमा अचम्मको शक्ति देखाएका थिए। उनले आँखा झिमिक्क गर्दा धान रोपिन्थ्यो र फेरि झिमिक्क गर्दा धान लहलहाएर पाक्थ्यो। उनले आफूलाई पद्मपाणि लोकेश्वर, अर्थात् करुणामय देवताको अवतार बताएका थिए। उनले आफ्नो तेस्रो पाइला जहाँ पर्छ, त्यहीँ आफूलाई स्थापना गर्न भनेका थिए। सोही स्थान आज विष्णुमती किनारको भीमसेनस्थान हो।

उनी साँझपख बजार डुल्थे र जसको पसलमा उनको दृष्टि पर्थ्यो, त्यसको व्यापार फस्टाउँथ्यो। यही भलो गर्ने स्वभावका कारण उनलाई ‘भिम्ह द्य’ भन्न थालियो, जुन क्रमशः ‘भिंद्य’ हुँदै ‘भीमसेन’ मा रूपान्तरित भयो।

ऐतिहासिक रूपमा भिंद्यको सम्बन्ध तिब्बतको ल्हासासँग पनि गाँसिएको छ। चिनियाँ हस्तक्षेपभन्दा पहिले प्रत्येक बाह्र वर्षमा भिंद्यको प्रसाद ल्हासा पुर्‍याउने परम्परा थियो। यसको व्यवस्थापनका लागि शाक्य र अन्य समुदायलाई विशेष जिम्मेवारी दिइएको थियो। लोकमान्यताअनुसार भिंद्यको पहिलो घर तिब्बत, दोस्रो घर दोलखा र तेस्रो घर काठमाडौँ मानिन्छ। दोलखाको शिला र पशुपति देवपत्तनमा रहेको शिलाको आकृतिमा देखिने समानताले यी क्षेत्रबीचको प्राचीन तान्त्रिक र सांस्कृतिक सम्बन्धलाई पुष्टि गर्छ।

मल्लकालपछि नेवार बस्तीहरूमा भिंद्य स्थापना गर्दा महाभारतका अन्य पात्रहरू—नकुल, सहदेव, अर्जुन र द्रौपदी—लाई समेत संगै राख्न थालियो। यसले मौलिक भिंद्यको पहिचान क्रमशः ओझेलमा पर्दै गयो र जनमानसमा उनी महाभारतकै भीमसेन हुन् भन्ने धारणा गहिरिँदै गयो।

पशुपतिनाथको छाँया दर्शन र भिं द्वादसीको रथारोहणले एउटा महत्वपूर्ण सन्देश दिन्छ—हाम्रा देवताहरू प्रकृतिका शक्ति हुन्। ‘भिंद्य’ शब्दले दिने शुभ, मंगल र लाभको अर्थ नै हाम्रो जीवन दर्शनको आधार हो। आजको समाजले महाभारतका भीमसेनको बल र नेवार सभ्यताका भिंद्यको असलपन मिसाएर एउटा साझा आस्था निर्माण गरेको छ।

अन्ततः, चाहे उनी अमूर्त शिला हुन् वा रौद्र रूपका भीमसेन, उनको मूल धर्म एउटै छ—भक्तको ‘भिं’, अर्थात् भलो गर्नु। स्थानीय नेतृत्व, गुठियार र सांस्कृतिक अभियन्ताहरूले यस्ता सूक्ष्म ऐतिहासिक तथ्यहरूलाई नागरिक तहसम्म पुर्‍याउन सकेमा मात्र हाम्रो वास्तविक पहिचान सुरक्षित रहन सक्छ।

यो आलेख लोकश्रुति, संस्कृतविद् ओम धौभडेलका भनाइ र ऐतिहासिक तथ्यहरूको विश्लेषणमा आधारित छ। यसले हाम्रो संस्कृतिभित्र लुकेका अनेक तहहरू उजागर गर्ने प्रयास गरेको छ, जहाँ देवता केवल मूर्ति होइनन्, उनीहरू सभ्यता, स्मृति र सामूहिक चेतनाका प्रतीक हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भित्तामा भगवान बनाउँदा पूजा र जिम्मेवारी सम्झनुपर्छ
3 दिन अगाडि

पशुपति ,देवपत्तन-नेपालका गल्लीहरू साँघुरा छन्, सडकहरू तंग छन् र सार्वजनिक ठाउँहरू प्रायः भीडभाडले भर ...

छुटाउनुभयो कि ?

TOP