पशुपति देवपत्तन।पशुपति क्षेत्रभित्र अवस्थित ऐतिहासिक तथा तान्त्रिक महत्व बोकेको श्री जयवागेश्वरी मन्दिरमा आज बिहीबार विशेष तान्त्रिक अनुष्ठान ‘मूलँ छायगु’ विधिवत् रूपमा सम्पन्न भएको छ। नेपाल संवत् ११४६, चिलाथो दशमीका दिन मनाइने यस पर्वसँगै जयवागेश्वरी माता, गणेश र भैरवको पूर्णकद स्वरूपमा शास्त्रोक्त विधिअनुसार रङ लगाउने (पोत्ने) परम्परागत प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। यो पर्व नेवार समुदायको धार्मिक आस्थासँगै मौलिक कला, तन्त्र र ज्योतिष परम्पराको जीवन्त अभ्यासका रूपमा पनि स्थापित छ।
आधुनिक समयको प्रविधि, डिजिटल घडी र वैज्ञानिक समय मापनको प्रयोग बढ्दै गएको भए पनि जयवागेश्वरी मन्दिरमा आज पनि प्राचीन जलघडीको आधारमा साइत निकाल्ने परम्परा निरन्तर कायम छ। पानी भरिएको घडाबाट समयको गणना गरी शुभ साइत तय गर्ने यो विधि केवल समय हेर्ने साधन नभई धार्मिक विश्वास र ज्योतिषीय ज्ञानसँग गाँसिएको अभ्यास हो। यही जलघडीको साइतमा आजको ‘मूलँ छायगु’ अनुष्ठान सुरु गरिएको थियो। पाटनका ज्योतिष कीर्ति किरण जोशी र उहाँको टोलीले जलघडीका आधारमा दिएको साइतअनुसार पुजारी र गुठियारहरूले पूजा आरम्भ गरेका थिए। रातो मछिन्द्रनाथको जात्राको साइतसमेत निकाल्दै आएको जोशी परिवारले जयवागेश्वरी मन्दिरका लागि पनि पुस्तौँदेखि ‘खानगी’ परम्पराअनुसार यो सेवा प्रदान गर्दै आएको विश्वास गरिन्छ।
‘मूलँ छायगु’ अनुष्ठानको सुरुवात जयवागेश्वरी मन्दिरमै नभई गुहेश्वरी मन्दिरबाट गरिन्छ। आजको विधि जयवागेश्वरी भण्डार तहबिलबाट गुहेश्वरी प्रस्थान गरी सुरु भएको थियो। तन्त्र विज्ञानअनुसार गुहेश्वरीमा पूजा गरी कालो बोकाको बलि दिएपछि मात्र जयवागेश्वरी मन्दिरमा मुख्य कार्य गर्न अनुमति प्राप्त हुने मान्यता रहँदै आएको छ। गुहेश्वरीमा विधिवत् पूजा र बलि सम्पन्न गरी फर्केपछि मात्र जयवागेश्वरी मन्दिरको गर्भगृह प्रवेशको प्रक्रिया अघि बढाइन्छ। यसअघि देखा लियेका( दिक्षित ) पाँचजना चित्रकारहरूको हातमा विशेष पूजा गरिन्छ, जसलाई उनीहरूलाई आध्यात्मिक रूपमा शुद्ध र एकाग्र बनाउने तयारीका रूपमा लिइन्छ।
नेपाल भाषामा ‘मूलँ छायगु’ भन्नाले देवताको पूर्णकदको मूर्तिमा रङ लगाउने प्रक्रियालाई जनाउँछ। यो कार्य साधारण चित्रकला होइन, गहिरो तान्त्रिक साधनासँग जोडिएको कर्म हो। चित्रकारहरूले देवताको स्वरूप निर्माण गरिसकेपछि कुन देवतालाई कुन रङ उपयुक्त हुन्छ भन्ने शास्त्रीय नियमअनुसार रङ छनोट गरिन्छ। रङको प्रयोग सौन्दर्यका आधारमा मात्र नभई देवताको शक्ति, तत्त्व र गुणअनुसार गरिन्छ भन्ने विश्वास छ।
यस सम्पूर्ण प्रक्रियाको सबैभन्दा संवेदनशील र महत्वपूर्ण चरण श्रीयन्त्रको अर्पण हो। मूल पुजारीले सुनको पत्तामा श्रीयन्त्र कोरेर पूजा गरेपछि सो पत्ता देखा लियेका मुख्य चित्रकारलाई हस्तान्तरण गरिन्छ। त्यसपछि चित्रकारहरूको हातमा पूजा गराई संकल्पसहित उनीहरूलाई गर्भगृह प्रवेश गराइन्छ र देवताको मूर्तिमा रङ भर्ने कार्य सुरु हुन्छ। यो क्रममा मौनता, अनुशासन र शुद्धताको विशेष ध्यान राखिन्छ। रङरोगन सम्पन्न भएपछि आगामी दिनमा दृष्टिदान, प्राण प्रतिष्ठापन र क्षमा पूजा गरिने परम्परा छ, जसपछि मात्र देवताको स्वरूप पूर्ण रूपमा स्थापित भएको मानिन्छ।
जयवागेश्वरी मन्दिरमा हुने यस्ता तान्त्रिक पर्वहरूमा गुठी व्यवस्था र गुठियारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। यस पर्वमा जयवागेश्वरी तहबिलका चार जना पुजारी र आठ जना खल्की (गुठियार) हरूको सक्रिय सहभागिता रहेको छ। परम्पराअनुसार यस्ता विशेष अनुष्ठानमा सहभागी हुने पुजारी र खल्कीहरूले कपाल खौरिएर शुद्ध हुनुपर्ने नियम छ, जसले व्यक्तिगत अहंकार त्यागी देवताको सेवामा समर्पित हुने भाव व्यक्त गर्छ।
हाल विदुरमान वैद्य (अध्यक्ष, दथु त्वा: बाजं खल:), हरिओम वैद्य (कावा पचली नाइके), हिराकाजी डङ्गोल ( जयाबगेस्वरी तहबिल मोहि नाईके ) ,सरोजराज वैद्य र श्री मन वैद्यलगायतका पदाधिकारी तथा खल्कीहरूले यस ऐतिहासिक विरासतलाई निरन्तरता दिइरहेका छन्। उनीहरूको सक्रियताले जयवागेश्वरी मन्दिरमा सदियौँदेखि चल्दै आएको तान्त्रिक र सांस्कृतिक परम्परा आजसम्म जीवित रहन सकेको छ।
यो सांस्कृतिक शृङ्खला फागुन १२ गतेको चिर स्वा अष्टमीमा हाँसको बलि दिएर सुरु भएको थियो। त्यस दिनदेखि विभिन्न विधि र तयारी हुँदै आजको ‘मूलँ छायगु’ अनुष्ठानमा आइपुगेको हो। यसले पर्वलाई एकै दिनको कर्मकाण्डमा सीमित नगरी क्रमिक साधना र तयारीसहितको सांस्कृतिक यात्राका रूपमा प्रस्तुत गर्छ।
पशुपति क्षेत्रभित्र अवस्थित जयवागेश्वरी मन्दिरमा सम्पन्न ‘मूलँ छायगु’ पर्वले नेपाली समाजमा अझै पनि तन्त्र, ज्योतिष, गुठी व्यवस्था र मौलिक कलाको जीवन्तता कायम रहेको स्पष्ट सन्देश दिन्छ। आधुनिकताको तीव्र प्रभावबीच पनि यस्ता पर्वहरू निरन्तर मनाइनु हाम्रो सांस्कृतिक आत्मबल र परम्पराप्रतिको सम्मानको प्रमाण हो। ‘मूलँ छायगु’ केवल देवताको मूर्तिमा रङ भर्ने प्रक्रिया मात्र होइन, यो देवता, कलाकार, पुजारी र समुदायबीचको आध्यात्मिक सम्बन्धलाई पुनःस्थापित गर्ने एक गहिरो सांस्कृतिक कर्म हो, जसले नेपाली सभ्यता र पहिचानलाई पुस्तौँसम्म जीवित राख्ने आधार निर्माण गरिरहेको छ।
काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि शासन गर्न पाउँछन् या ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!