सृष्टिको सर्वश्रेष्ठ र ऊर्जावान् धरोहर मानव मस्तिष्क हो, जसको नवीन चेतना, सिर्जनात्मक उद्वेग र बौद्धिक सामथ्र्यले नै सभ्यताका शिलास्तम्भहरू ठड्याउँछन् । तर वर्तमान विश्वव्यापीकरणको आँधीमा विकाशोन्मुख मुलुकहरू आप्mनै गर्भबाट जन्मिएका, हुर्किएका र दीक्षित भएका तिनै ऊर्जावान् मस्तिष्कहरू गुमाउन विवश छन्, जसलाई प्रतिभा पलायन (ब्रेन ड्रेन) भनिन्छ । यो केवल मानव संसाधनको स्थानान्तरण मात्र होइन विकासोन्मुख राष्ट्रहरूको आर्थिक, सामाजिक र बौद्धिक क्षितिजमा लागेको एउटा यस्तो ग्रहण हो, जसले मुलुकको उज्यालो भविष्यलाई छायामा पारिरहेको छ । आप्mनो माटोको सुगन्ध, संस्कृति र लगानीलाई तिलाञ्जली दिँदै बौद्धिक जमात उन्नत र साधनसम्पन्न देशतर्फ आकर्षित हुनु राष्ट्रिय अस्मिता र समृद्धिको यात्रामा एउटा गम्भीर बज्रपात हो । जब देशका मेरुदण्ड मानिएका वैज्ञानिक, चिकित्सक, इन्जिनियर र प्राज्ञिक वर्ग क्षितिजपारिको चमकबाट सम्मोहित भएर पलायन हुन्छन् तब मुलुक एउटा अनन्त रिक्तता र बौद्धिक मरुभूमिकरणको सङ्कटमा धकेलिन पुग्छ ।
भौतिक पूर्वाधार र आर्थिक उन्नतिका भोका विकासोन्मुख राष्ट्रहरूका लागि प्रतिभा पलायन पहिलो र सबैभन्दा घातक प्रहार बन्न पुगेको छ । राष्ट्रले आप्mनो सिमित स्रोत–साधन, जनताले तिरेको कर र राज्यको ठुलो लगानी खर्च गरेर उत्पादन गरेका जनशक्ति जब कार्यमूलक उमेरमा पुग्छन् तब तिनको बौद्धिक प्रतिफल अर्कै विकसित राष्ट्रले सित्तैमा प्राप्त गर्दछ । यो प्रक्रिया विकासोन्मुख मुलुकका लागि आफूले रोपेको वृक्षको फल अर्कैले चाख्ने जस्तै विडम्बनापूर्ण बनेको छ, जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा एउटा ठुलो अदृश्य वित्तीय खाडल निर्माण हुन्छ । उदाहरणका लागि दक्षिण एसियाली र अफ्रिकी मुलुकहरूबाट वर्षेनी हजारौँ दक्ष इन्जिनियर र व्यवस्थापकहरू पश्चिमा मुलुकतर्फ पलायन हुँदा स्वदेशी उद्योग, प्रविधि र नवप्रवर्तनका क्षेत्रहरू नेतृत्वविहीन बन्न पुगेका छन् । परिणामस्वरुप यी राष्ट्रहरू आप्mनै प्राकृतिक स्रोतको समुचित उपयोग गर्न अक्षम भई पुनः विदेशी प्रविधि र परामर्शदातामाथि निर्भर रहनुपर्ने दुष्चक्रमा फस्छन् । विप्रेषण (रेमिट्यान्स) को क्षणिक र सुक्खा मल्हमले बौद्धिक पलायनको यो गहिरो र रगत बगिरहेको घाउलाई कहिल्यै निको पार्न सक्दैन, किनकि पैसाले श्रम किन्न सकिएला तर रैथाने सिर्जनशीलता र नवप्रवर्तन किन्न सकिँदैन ।
सामाजिक र स्वास्थ्य क्षेत्रमा प्रतिभा पलायनले पारेको प्रभाव झनै कारुणिक र अमानवीय प्रतित हुन्छ, जसले सिङ्गो समाजको आधारभूत संरचनालाई नै खल्बलाइदिएको छ । विकासोन्मुख देशका ग्रामीण भेगहरू, जहाँ स्वास्थ्य चेतना र आधुनिक चिकित्साको उज्यालो अझै पुग्न सकेको छैन, त्यहाँका नागरिकहरू सामान्य उपचारको अभावमा छटपटाइरहँदा देशका प्रतिष्ठित शिक्षण अस्पतालबाट स्वर्णपदक प्राप्त चिकित्सकहरू अमेरिका वा युरोपका सुसज्जित अस्पतालमा सेवा गरिरहेका हुन्छन् । यो बिम्बले एकातिर राज्यको लाचारीलाई देखाउँछ भने अर्कातिर मानवीय संवेदनाको क्षयीकरणलाई उजागर गर्दछ । चिकित्सक, नर्स र अनुसन्धानकर्ताहरूको यो निरन्तरको बहिर्गमनले गर्दा मुलुकको जनस्वास्थ्य प्रणाली सदैव आईसीयूमा छटपटाएझैँ कमजोर बनिरहन्छ, जसको प्रत्यक्ष मार गरिब र सीमान्तकृत समुदायमाथि पर्दछ । कुनै पनि महामारी वा स्वास्थ्य सङ्कट आउँदा देशमा नीति निर्माण गर्ने र अग्रपङ्क्तिमा लड्ने विशेषज्ञहरूको चरम अभाव खड्किनु यसै भयावह यथार्थको ऐना हो । यसरी समाजको बौद्धिक र प्राविधिक सुरक्षा घेरा नै भत्किँदा सर्वसाधारणमा राज्यप्रतिको भरोसा टुट्छ र निराशाको एउटा भयानक डढेलो सल्किन पुग्छ ।
शैक्षिक र प्राज्ञिक क्षेत्रमा त प्रतिभा पलायनले झनै उजाड मरुभूमि नै सिर्जना गरिदिएको छ, जसको असर आगामी कैयौँ पुस्तासम्म कायम रहन्छ । विश्वविद्यालयहरू केवल प्रमाणपत्र बाँड्ने र राजनीति गर्ने अखडा जस्ता देखिनुको मुख्य कारण त्यहाँ ज्ञानको दियो बाल्ने प्रखर चिन्तक, प्राध्यापक र अनुसन्धानकर्ताहरूको अभाव हुनु नै हो । उत्कृष्ट मस्तिष्कहरू विदेशी विश्वविद्यालयको अनुसन्धानशाला र प्रयोगशालामा व्यस्त हुँदा स्वदेशी प्राज्ञिक संस्थाहरू गतिहीन, पुरातन र सिर्जनाविहीन बन्न पुगेका छन् । नयाँ पुस्ताले स्वदेशमै उच्च शिक्षा र अनुसन्धानको उपयुक्त वातावरण नपाउँदा उनीहरूमा पनि विद्यालय तहदेखि नै प्लस टु सकेर विदेशिने एउटा नकारात्मक र घातक मनोविज्ञान विकास भइरहेको छ । यसले गर्दा देशका शिक्षण संस्थाहरू केवल विदेशी विश्वविद्यालयका लागि कच्चा पदार्थ उत्पादन गर्ने थलो जस्ता भएका छन्, जहाँ गुणस्तर र मौलिक चिन्तनको सर्वथा अभाव देखिन्छ । प्राज्ञिक क्षेत्रको यो रिक्तताले राष्ट्रको बौद्धिक चेतनालाई कुण्ठित बनाउँछ र समाजलाई तार्किक एवं विवेकशील हुनुबाट रोकेर अन्धकारतर्फ धकेल्छ ।
राजनैतिक र प्रशासनिक क्षेत्रमा प्रतिभा पलायनको प्रभाव झनै सूक्ष्म तर दीर्घकालीन रूपमा विनाशकारी सिद्ध भएको देखिन्छ । जब देशका ऊर्जावान्, इमानदार, नवप्रवर्तनकारी र दूरदर्शी युवाहरू देश छाडेर पलायन हुन्छन् तब कर्मचारीतन्त्र र राजनीतिमा चाटुकार, अक्षम र यथास्थितिवादी तत्वहरूको वर्चस्व स्थापित हुन पुग्छ । बौद्धिक वर्गको अनुपस्थितिले गर्दा राज्यका नीति नियमहरू फितला, अदूरदर्शी र राष्ट्रिय हित विपरित बन्न पुग्छन्, जसले गर्दा सुशासन र विधिको शासनको उपहास हुन्छ । देशको नेतृत्व तहमा रहनेहरूमा बौद्धिक क्षमता र रणनीतिक दूरदर्शिताको कमी हुँदा मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा आप्mनो बलियो उपस्थिति र कूटनीतिक चातुर्य प्रदर्शन गर्न सक्दैन । नीतिगत तहमा रहने यो बौद्धिक खडेरीकै कारण विकासका योजनाहरू कागजमै सीमित हुन्छन् र देश सदैव वैदेशिक सहयोग र ऋणको भारी मुनि थिचिन पुग्छ । वास्तवमा योग्यहरूले देश छोड्दै जाँदा अयोग्यहरूको शासन स्थापित हुनु नै विकासोन्मुख मुलुकहरूको सबैभन्दा ठुलो राजनीतिक र प्रशासनिक अभिशाप बन्न पुगेको छ ।
अन्तमा प्रतिभा पलायन विकासोन्मुख मुलुकहरूको छातीमा रोपिएको एउटा यस्तो अदृश्य काँडा हो, जसले उनीहरूको समृद्धिको सपनालाई प्रतिपल क्षतविक्षत बनाइरहेको छ । यो केवल मानव संसाधनको बाहृय गमन मात्र नभएर राष्ट्रको स्वाभिमान, सिर्जनशीलता र उज्यालो भविष्यको सामूहिक अवसान पनि हो । यदि समयमै राज्यले दूरदर्शी नीति ल्याएर प्रतिभा पलायनलाई ब्रेन गेन (प्रतिभा आर्जन) वा ब्रेन सर्कुलेशन (प्रतिभा परिचालन) मा रूपान्तरण गर्न सकेन भने यी मुलुकहरू सधैँ परावलम्बी र पछौटेपनको अँध्यारो सुरुङमै फसिरहन्छन् । माटोले तब मात्र न्याय पाउँछ जब त्यही माटोमा हुर्किएका विवेकका फूलहरूले आप्mनै आँगनलाई सुगन्धित बनाउँछन् । तसर्थ पलायन भएका प्रतिभाहरूलाई स्वदेश फर्काउने वातावरण निर्माण गर्नु र भइरहेका प्रतिभालाई पलायन हुन नदिनु नै आजको युगको सबैभन्दा ठुलो र अनिवार्य राष्ट्रिय दायित्व हो ।
लेखक (पञ्चकन्या ५, नुवाकोट ।
कक्षा ः ११ मा अध्ययनरत
जनज्ञान निकेतन माध्यमिक विद्यालय शिवपुरी ८, नुवाकोट) कि छात्रा हुन।
काठमाडौँ । सिन्धुलीका श्रीकृष्ण विकको हिरासतभित्र भएको मृत्युले सडक, सदन, सञ्चारमाध्यम र सामाजिक सञ् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!