‘छिट्टै धनी बन्ने’ लोभमा युवा, क्रिप्टो ठगीको उच्च जोखिम

काठमाडौं पुस १८-‘छिट्टै धनी बन्ने’ चाहनाले प्रविधिमा अभ्यस्त नेपाली युवा वर्ग अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइन ठगीको उच्च जोखिममा परेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको भर्चुअल सम्पत्तिसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ अनुसार नेपालमा प्रतिबन्धित भर्चुअल सम्पत्तिको शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरूमध्ये ७५ प्रतिशत २१ देखि ३५ वर्ष उमेर समूहका युवाहरू रहेका छन् ।

प्रतिवेदनले नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, यूएसडीटी, बाइनान्स, मेटामास्क, हाइपरफन्ड, हाइपभर्स लगायतका भर्चुअल सम्पत्तिको प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि यसको अवैध प्रयोग र जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गरेको छ । विशेषगरी सामाजिक सञ्जाल, अनलाइन विज्ञापन र डिजिटल प्लेटफर्ममार्फत ‘उच्च प्रतिफल’, ‘छोटो समयमा दोब्बर आम्दानी’ जस्ता प्रलोभन देखाइ युवालाई लक्षित गरी ठगी भइरहेको प्रतिवेदनले औंल्याएको छ ।

राष्ट्र बैंकका अनुसार सन् २०२१ जनवरी १ देखि २०२५ जुलाई १६ सम्ममा कुल ६५८ वटा शंकास्पद क्रिप्टो कारोबार फेला परेका छन् । तीमध्ये अधिकांश कारोबार बैंकिङ च्यानल प्रयोग गरेर गरिएको देखिन्छ । बैंक स्टेटमेन्टमा बाइनान्स, क्रिप्टो, बिटक्वाइन, यूएसडीटी जस्ता शब्दहरू उल्लेख भएको आधारमा शंकास्पद कारोबार पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ । कुल शंकास्पद कारोबारमध्ये ९१ प्रतिशतभन्दा बढी वाणिज्य बैंकहरूमार्फत भएका छन् ।

उमेर समूहको विश्लेषण गर्दा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू सबैभन्दा बढी संलग्न देखिएका छन् । यसले प्रविधिमा सहज पहुँच, अनलाइन लगानीप्रति आकर्षण र जोखिमबारे पर्याप्त जानकारीको अभावले युवा वर्गलाई अवैध कारोबारतर्फ धकेलिरहेको संकेत गर्छ । अझ चिन्ताजनक तथ्य के छ भने १६ देखि २० वर्ष उमेर समूहका किशोर–किशोरीहरू पनि यस किसिमका गतिविधिमा संलग्न हुन थालेका छन् ।

पेसागत हिसाबले हेर्दा सबैभन्दा बढी विद्यार्थी (२९ प्रतिशत) शंकास्पद क्रिप्टो कारोबारमा संलग्न देखिएका छन् । त्यसपछि कर्मचारी, साना व्यवसायी, वैदेशिक रोजगारीमा जानेहरू तथा स्वरोजगार समूह रहेका छन् । प्रतिवेदनले विद्यार्थी र युवाहरू वित्तीय साक्षरताको कमी र ‘छिट्टै धनी बन्ने’ मानसिकताका कारण अनलाइन लगानी घोटाला र ठगीको सिकार भइरहेको निष्कर्ष निकालेको छ ।

शंकास्पद कारोबारमध्ये ३२१ वटा थप अनुसन्धानका लागि नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । क्रिप्टोकरेन्सीको प्रयोग हुन्डी, अवैध विदेशी विनिमय, अनलाइन ठगी, मनी म्युल्स तथा व्यावसायिक आवरणमा गरिने अपराधमा भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, विदेशी विनिमय ऐन र मुलुकी अपराध संहिताअनुसार नेपालमा भर्चुअल सम्पत्तिको उत्पादन, बिक्री, कारोबार वा भण्डारण फौजदारी अपराध मानिन्छ । यस्तो कार्यमा संलग्न हुनेलाई जरिवाना, सम्पत्ति जफत र कारावाससम्मको सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिवेदनले केवल प्रतिबन्ध मात्र पर्याप्त नहुने उल्लेख गर्दै युवाहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम, कडा निगरानी प्रणाली र प्रभावकारी अनुसन्धान संयन्त्र सुदृढ गर्न सरकार र सरोकारवालालाई सुझाव दिएको छ । साथै सर्वसाधारणलाई गैरकानुनी र जोखिमपूर्ण अनलाइन लगानीबाट टाढा रहन सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP