काठमाडौ ।गुठी व्यवस्था नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रुपमा चिनिंदै आएको छ। यस किसिमका धार्मिक, साँस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्य सम्बन्धी धरोहरहरुको स्थापना, निर्माण र सञ्चालन/व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्यहरु हुँदै आएका छन् । देवालय, शिवालय लगायतका धार्मिक प्रतिष्ठानहरु खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको शुरुआत लिच्छवीकालदेखि हुँदै आएको पाइन्छ ।
लोककल्याणको भावनालाई केन्द्रमा राख्न अभिप्रेरित भई समाजले सामूहिक रुपमा गुठीहरुको स्थापना र सञ्चालन गरेको पाइन्छ । यस्ता गुठीहरु प्रायः धार्मिक, परोपकारी, सामाजिक र मानवीय पक्षलाई दृष्टिगत गरी सञ्चालनमा रहेका छन् । धर्मपरायण नेपाली समाजमा यस्ता गुठीहरुको सामाजिक–साँस्कृतिक भूमिका महत्वपूर्ण रहिआएको छ । नेपाली समाजमा विद्यमान यस्ता परम्परालाई जीवित राख्दै एकातिर धर्म र सँस्कृतिको संरक्षण गर्न सकिन्छ भने र अर्कातर्फ समाज र राष्ट्रको उत्थान गर्ने महान् उद्देश्यलाई पूरा गर्न सकिन्छ ।
गुठी जग्गाः गुठी संचालनका लागि खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले आफ्नो हक छाडी राखिदिएका जग्गा नै गुठी जग्गा हुन्। ती जग्गाहरुको दिगो उपयोगबाट तोकिएका धार्मिक सांस्कृतिक परोपकारी गतिविधिहरु संचालन हुने गर्दछन्। गुठी जग्गाको विषय मात्रै होईन, यो त धर्म संस्कृतिको संरक्षण गर्ने सशक्त माध्यम पनि हो। गुठी जग्गाको माध्यमबाट नै नेपाली जनजीवनको राष्ट्रको मूल धर्म र यस भित्र अन्योन्याश्रित संस्कृतिका आधारलाई जीवन्त राखी युगौ युगसम्म कायम गराउने क्षमता राख्ने हैसियत राखेको हुन्छ।
गुठी तैनाथी जग्गाः अरु कसैको नाउँमा दर्ता नभएको सम्पूर्ण हक अधिकार संस्थानको भएको जग्गा, मठ, मन्दिर, पोखरी, पोखरीको डिल, बगैंचा वा फूलबारी वा गुठी संस्थानले खेती गर्न छुट्याएको जग्गाहरु यस भित्र पर्दछन्।
गुठी अधिनस्थ जग्गाः दर्तावालाले वा जोताहा मोहीले गुठीमा कूत बुझाउनुपर्ने जग्गा अर्थात् मोही लागेका गुठी जग्गा। यस्तो जग्गामा मोहीले संस्थानलाई प्रत्येक वर्ष तोकिएको दरमा कुतवाली बुझाउनु पर्छ। नियमित रुपमा कुतवाली नबुझाउने मोहीको मोहीयानी हक निष्कासन गर्न समेत सकिने प्रकृतिको जग्गा।
गुठी रैतान नम्वरी जग्गाः दर्तावालाले गुठी संस्थानलाई मालपोत बुझाउनुपर्ने जग्गा। यस्तो किसिमको जग्गा रैकर सरहको जग्गा हो। गुठीको अधिनस्थ (मोही) जग्गामा गुठी संस्थान ऐन, २०३३ को पहिलो संशोधन २०४१ मा आएको व्यवस्था बमोजिम तोकिए बमोजिमको दस्तुर बुझाएर रैतान नम्बरीमा परिणत भएका जग्गा। गुठी नम्वरी जग्गाः गुठी संस्थानले जग्गावालाको हैसियतले नेपाल सरकारलाई मालपोत बुझाउनु पर्ने रैकर जग्गा।
खान्गी जग्गाः गुठीको निश्चित काम गरेवापत गुठीका कामदारले जोती भोगसम्म गर्न पाउने जग्गा। गुठीमा तोकिए बमोजिम काम गरेसम्म उपयोग गर्न पाउने विक्रि वितरण गर्न नपाउने जग्गा।
जलवायु परिवर्तन गम्भीर वैश्विक पर्यावरणीय समस्या हो । यसको अध्ययन र अनुसन्धान गर्ने काम व्यापक रूपमा भइराखेको छ । सूर्यको किरणहरू जुन पृथ्वीमा पुग्दछन्, यसका केही अंश वायुमण्डल तथा पृथ्वीद्वारा अवशोषित हुन्छन् भने बाँकी पृथ्वीबाट परिवर्तित भएर फिर्ता जान्छन् । वायुमण्डलमा उपस्थित ग्याँसहरू कार्वनडाइअक्साइड, मिथेन, नायट्रसअक्साइड आदिले यिनै परावर्तित विकिरणलाई अवशोषित गर्दछन् । यसबाट ‘ग्रिन हाउस’ जस्तै वायुमण्डल तातो हुन्छ । अहिले विभिन्न ग्याँसहरूको लगातार बढिरहेको कन्सन्ट्रेसनको कारण वायुमण्डलको तापक्रम पनि बढिरहेको छ । जसको कारण सम्पूर्ण विश्वमा जुन वातावरणीय परिवर्तन भइरहेका छन् । यसलाई नै ग्लोबल वार्मिङ वा जलवायु परिवर्तन भनिन्छ ।
जलवायु परिवर्तनले सबैभन्दा बढी प्रभाव कृषि क्षेत्रलाई पारेको छ । यसबाट नेपाल अछुतो छैन । नेपालको जैविक विविधता र भूगोलको अवस्था हेर्दा जलवायु परिवर्तनले ठुलो प्रभाव पारिरहेको देखिन्छ । जलवायु परिवर्तनका कारण वर्षाको प्याटर्नदेखि तापमानमा फरक परिरहेको छ ।
जलवायु परिवर्तनको दृष्टिले नेपाल विश्वमै अति संवेदनशील देशका रूपमा चिनिन्छ । देशको भौगोलिक बनोट, पूर्वाधारहरूको विकासमा कमी, कृषिनिर्भर अर्थव्यवस्था जस्ता कारणले गर्दा नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित हुने देश हो । हरित गृह ग्यास उत्सर्जनमा नेपालको न्यून हिस्सा भए पनि हामीले यसबाट धेरै नकारात्मक असरहरू खेप्नु परिरहेको छ ।
दिनदिनै परिवर्तन भइरहने अवस्थालाई मौसम भनिन्छ । जसमा आज एक खालको मौसम हुन्छ भने भोलि नै अर्को खालको मौसम हुनसक्छ । महिना–महिनामा परिवर्तन भइरहनेलाई सिजन भनिन्छ । त्यस्तै वर्ष वर्षमा परिवर्तन भइरहेकालाई क्लाइमेट भेरियावलिटी भनिन्छ । दसौँ वर्षमा, सयौँ वर्षमा जब मौसम परिवर्तन हुन्छ भने त्यसलाई जलवायु परिवर्तन भन्छौँ । जलवायु परिवर्तन विभिन्न तरिकाले भइरहेका हुन्छन् । एउटा हो, प्राकृतिक तरिका । यसमा प्राकृतिक रूपले मौसम परिवर्तनलाई प्रभाव पारिरहेको हुन्छ । जस्तो – वनमा डढेलो लाग्नु, वन विनाश हुनु, भूक्षय हुनु, सोलार साइकलमा परिवर्तन हुनु । यस्तै, मानवीय व्यवहार । यसमा मानवले गर्ने विभिन्न क्रियाकलापका कारण असर गरिरहेको हुन्छ । मानवले गर्ने खेती प्रणाली, उसले प्रयोग गर्ने वस्तु, फोहर, ग्याँस, मल खाद्य तथा विषादीको प्रयोगले गर्दा पनि मौसममा परिवर्तन आएको हो । ७५ प्रतिशत ग्लोबल वार्मिङ कार्बनडाइक्साइडका कारणले भइरहेका हुन्छन् । १७ प्रतिशत मिथेनका कारणले हुन्छ भने बाँकी अन्य ग्यास तथा अन्य कारणले ग्लोबल वार्मिङ हुने गरेको छ । यसले अत्यधिक तापक्रम बढाई दिने, मौसम सुख्खा बनाई दिने, अत्यधिक वर्षा गराई दिने, अत्यधिक चिसो बढाई दिने, असिना पार्ने लगायत असरहरू देखिन्छन् ।
नेपालमा गुठी रैतान नम्बरी जग्गाको किसिम पहाड तर्फ (रोपनी) तराई तर्फ (विगाहा)
गुठी रैतान नम्बरी ३१५४७२ ६२२५६
गुठी अधिनस्थ २४३६०७ २१९६
तैनाथी २९११ १८७८
जम्मा ५६१९९० ६६३३०
उल्लिखित जग्गाहरु मध्ये करिब १०,००० रोपनी जग्गामा मठ मन्दिर रहेका र अन्य जग्गाहरु विभन्न किसिमबाट उपयोग भई आएको देखिन्छ। जलवायु परिवर्तनबाट गुठी जग्गामा परेको असरलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ-
नेपालमा भूउपयोग परिवर्तनमा तीव्र सहरीकरणका कारण कृषियोग्य भूमि मासिँदै गएको छ । पुराना सहर वरिपरिका खेतीयोग्य भूमिसमेत आवास क्षेत्रमा बदलिएका छन् । मुख्य सहरभित्रका खुला ठाउँहरू मासिँदै गएका छन् । र, ती ठाउँमा व्यावसायिक भवन ठडिएका छन् । यो प्रवृत्ति बढ्दो छ । जसले गर्दा गुठी जग्गा दिनानुदिन अतिक्रमण भईरहेको छ।
धेरै पूर्वाधार आयोजना (जस्तै- सडक, भवन, जलविद्युत् आयोजना, विमानस्थल आदि) निर्माण भइरहेका छन् । यी आयोजना निर्माणका क्रममा पनि मूलतः कृषिका लागि प्रयोग भइरहेका जमिन नै उपयोग गरिएका छन् ।
पहिरो, बाढी, डुबानजस्ता प्रकोपबाट जमिनको नोक्सानीका साथै उर्वराशक्तिमा समेत ह्रास भइरहेको छ। पहाडी तथा चुरे क्षेत्रका गुठी जमिन पहिरोको उच्च जोखिममा पर्नु, पोखरी, कुवा, सिँचाई, कुलो, पुरिनु नष्ट हुनु। यसरी सहरीकरण, पूर्वाधार विकास र ठूला प्रकोपका कारण नेपालको भूउपयोगमा तीव्र परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले भूमिको उपयोगमा परिवर्तन आउने र भूमि उपयोगमा आएको परिवर्तनले फेरि जलवायु परिवर्तनको नकारात्मक असरलाई तीव्र बनाउन भूमिका खेलिरहेको छ।
जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासको अन्तरक्रियाले भूमि उपयोग परिवर्तनलाई धेरै प्रभावित तुल्याउँछ। जलवायुजन्य प्रकोप बाढी, डुबान र पहिरोले जग्गाको क्षति र माटोको उर्वराशक्तिमा ह्रासजस्ता प्रत्यक्ष असर पार्छ। बर्सेनिको बाढी र त्यसले ल्याउने थेग्रिनका कारण नदी किनारको सयौं हेक्टर जमिन बगरमा परिणत हुँदै गएको छ। पहिरोले पहाडमा रहेको जमिनको ठूलो हिस्सा बगाइरहेको छ। उपयोगका विविधताले पनि भूमि क्षयीकरणमा भिन्नभिन्न असर गर्छ। कृषि, वन र वनस्पतिले ढाकेको जमिनले भूमिको गुणस्तर कायम राखिराख्न सघाउँछ भने सहरी बस्ती र सोको विस्तारले भूमिको क्षयीकरण बढाउँछ।
नेपालमा जलवायु परिवर्तनका कारण बढी असर परेकोमध्ये कृषि प्रमुख क्षेत्र हो। कृषि भूमि कम हुँदै जाँदा कृषिमा सीधा असर पुग्ने नै भयो। नेपालको कृषि आजसम्म पनि धेरैजसो आकाशे पानीमा निर्भर छ। पानीको स्रोत घट्दै गएकाले कुलोबाट सिँचाइ हुने जमिनमा पनि पानी पाउन मुस्किल हुँदै गएको छ। जलवायु परिवर्तनका कारण कहिले अचाक्ली वर्षा हुन्छ त कहिले लामो समयसम्म खडेरी पर्न थालेको छ। पछिल्लो पटक छोटो समयको वर्षाले २० वर्षयताकै ‘उच्च वर्षा’ को रेकर्ड राख्नु यसको ज्वलन्त प्रमाण हो। उपत्यकामै ३८५ घर डुबानमा पर्नुले यस्ता अप्रत्याशित घटनाले पार्न सक्ने क्षतिको आयतन अनुमान गर्न सघाउँछन्। उच्च तापक्रमका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढिरहेका छन्। यसले उत्पादकत्व घटाउँदै छ। पानीको अभाव, असन्तुलित वर्षा र बाढीले कृषिमा नराम्रो क्षति पुर्याएको छ। आर्थिक विकासका नाममा वातावरणीय विनाश र जलवायु जोखिम बढाउने काम भइरहेको छ। सडक, भवन, जलविद्युत् र विमानस्थलजस्ता आधारभूत पूर्वाधारहरूको विस्तार विकासको आधार हो तर यसका लागि पनि जमिनको उपयोग हुन्छ र यसले भूमिको दोहन बढेर जान्छ।
गुठी अन्तर्गतका पोखरी धारा कुवा सुक्नु, भू-जलको सतह घट्नु, जैविक विविधतामा ह्रास पुगी जलस्रोत तथा वातावरणीय असर पर्नुको कारण हो।गुठी जग्गामा हुने आम्दानी घट्नु, संरक्षण खर्च बढ्नु, विवाद र अतिक्रमण जोखिम बढी गुठीको व्यवस्थापन र आम्दानीमा असर पुर्याएको छ।
जलवायु परिवर्तनका कारण कृषिमा देखिएको असरको बारेमा सबैभन्दा पहिले अध्ययन अनुसन्धान गर्न जरुरी देखिएको छ । समग्र कृषिलाई यसको प्रभावबाट कसरी जोगाउने बारे पर्याप्त अध्ययनहरू भएका छैनन् ।
कृषिलाई वातावरणीय प्रभावबाट बचाउनका लागि केही प्रविधिहरूको पनि विकास भएका छन् । जसलाई क्लाइमेटस् स्मार्ट एग्रीकल्चर भनिन्छ । परम्परागत रूपमा भइरहेको खेती प्रणालीमा परिवर्तन हुँदै आइरहेको छ ।
पहिला–पहिला कुन महिनामा के रोप्ने, कस्तो मौसममा के लगाउने कुराको कार्यतालिका नै हुन्थ्यो । सरकारी बुलेटिनमा पनि त्यो आउँथ्यो । तर मौसम परिवर्तनका कारण यसमा पनि परिवर्तन आएको हो । यद्यपि यी कार्यतालिकालाई यथावत् राख्ने हो भने केही प्रविधिहरू किसानले प्रयोगमा ल्याउन सकिन्छ । जसलाई हामीले क्लाइमेटस् स्मार्ट टेक्नोलोजी भन्छौँ । कृषि अनुकुलन बाली लगाउन प्रोत्साहन गर्ने।
क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रयोगबाट जलवायु परिवर्तन जोखिम न्यूनीकरण गर्न सकिन्छ । क्लाइमेट स्मार्ट एग्रिकल्चर शब्दको प्रयोग सन् २०१० मा एफएओको खाद्य सुरक्षा, कृषि र जलवायु परिवर्तनका लागि आयोजित हेग सम्मेलनमा गरिएको थियो । यो जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूलाई समाधान गर्न एउटा सरल दृष्टिकोण हो ।
पहिला बनाइएको कृषि कार्यतालिकामा फरक पर्न थालेको छ । यही पुरानो कार्यतालिकालाई यथावत् राख्ने हो भने हाम्रो कृषिमा ठुलो समस्या आउन सक्छ । त्यसैले क्लाइमेट स्मार्ट प्रविधिहरूको विकास र प्रयोग आजको आवश्यकता हो । हाल नेपालमा मौसम पूर्वानुमान, सिँचाइ, खाद्य तत्त्व, ऊर्जा आदिलाई ‘स्मार्ट’ बनाउने तथा एकीकृत शत्रुजीव व्यवस्थापन लगायतका रहेका छन् । मौसम सल्लाह बुलेटिन अन्तर्गत किसानलाई मौसम पूर्वानुमान र त्यसअनुसार कृषि/बागवानी कार्य गर्न बल दिइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारले यो सेवा दिइरहेको छ । यो जानकारी प्रत्येक हप्ता इमेल, फेसबुक र नेपाल टेलिभिजनबाट दिइन्छ ।
थोपा सिँचाइबाट कम पानीले थोरै समयमा धेरै क्षेत्रमा सिँचाइ गरी तरकारी– काँक्रो, गोलभेँडा, भेडे खुर्सानी आदिको खेती गर्न सकिन्छ । त्यस्तै, प्लास्टिक पोखरी बनाएर आकाशको पानी सङ्कलन गरेर तरकारी खेती र फलफूल बगैँचामा सिँचाइ गर्न सकिन्छ । बहुउद्देश्यीय पानी प्रणाली अन्तर्गत बढी भएको पिउने पानी सदुपयोग गरि घरेलु बगैँचामा सिजन अनुसारको तरकारी खेती गर्न सकिन्छ ।
पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै शत्रुजीवहरुको उचित रूपमा व्यवस्थापन गरी स्वास्थ्य बाली उत्पादन लिन अपनाइने प्रविधिलाई एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ । जस्तै–बत्तीको पासो, जालीले पक्रने, टाँसिने पासो, फेरोमिन पासो, घरेलु विषादी आदी ।
अहिले सुख्खा सहने, चिसो सहने र पानी सहने जातका विभिन्न बालीहरू विकास भएका छन् । खेतमा पालै–पालो पानी लगाउने र सुकाउने प्रविधि, बढी ताप सहन सक्ने वर्णशंकर मकैका जातहरु– रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० साथै धानका खडेरी सहन सक्ने सुख्खा धान १ देखि ६ र लेकाली धान १ त्यसैगरी डुबान सहन सक्ने स्वर्ण सव १, साँवा मसुली सब १, सेहरांग सब १, गङ्गा सागर १ र २, डुबान र खडेरी दुवै सहन सक्ने बहुगुणी धान १, बहुगुणी धान २ विकास भएका छन् ।
भूउपयोग योजना तर्जुमा गरी कृषि, वन, सिमसार आदि क्षेत्रको जमिनलाई अन्य उपयोगमा जानबाट रोक्नु नितान्त जरुरी छ। यसले जथाभावी रूपमा भएका विकास–निर्माणलाई व्यवस्थित गर्न पनि सघाउँछ। खाली र खेर गइरहेको जमिनमा खेती वा वृक्षरोपण गर्न सकिन्छ।
भूउपयोग नीति, भूउपयोग ऐन तर्जुमा भइसकेको हुँदा भूउपयोग योजनालाई राष्ट्रिय अभियानका रूपमा लागू गर्न आवश्यक छ। भूउपयोग योजनामा प्रकोप जोखिम क्षेत्र पहिचान हुने हुँदा त्यस क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने अनि सुरक्षित र आवास क्षेत्रमा मात्र मानिसको बसोबास गराउन सकिने हुँदा बर्सेनि प्रकोपबाट भइरहेका मानवीय र अन्य आर्थिक क्षतिलाई पनि कम गर्न सकिन्छ। भूउपयोगमा आउने परिवर्तनले हुने जलवायु परिवर्तनलाई कम गर्न पनि सघाउँछ। भूउपयोग योजना तर्जुमा र सोको कार्यान्वयनका लागि स्थानीय सरकार हाम्रा लागि महत्त्वपूर्ण अवसर हो।
अनुसन्धानहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजान सकिने देखाएका छन्। जस्तै, बाँझो जमिनमा रोपिने बहुउपयोगी वनस्पतिले मानिसलाई खाद्यान्न र औषधिलगायतका वातावरणीय सेवा दिन्छ। जीवजन्तुलाई आश्रयस्थल दिन्छ। जलवायु परिवर्तनको कारक कार्बनलाई निषेचन गर्छ र पहिरोजस्ता जोखिमबाट पनि बचाउँछ। कृषि वन, कृषि पर्यावरण, पर्या–पर्यटनले आम्दानीमा विविधता र वृद्धि ल्याउँछ।
जमिनको अनुकूल क्षमता निर्माण र जलवायु परिवर्तनलाई उत्थानशील बनाउनका लागि भूउपयोय योजनामार्फत दिगो भूमि व्यवस्थापन महत्त्वपूर्ण रणनीति हो। यसले पर्यावरणीय सेवा र जीविकोपार्जनलाई कायम राख्दै बढ्दो खाद्य वस्तुको माग पूर्तिका लागि जमिन, पानी, जैविक विविधता र वातावरणीय चासोहरूलाई एकीकृत गर्न मद्दत पुर्याउँछ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने आफ्नो सबैभन्दा महत्त्वाकांक्षी प्रयासमा नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ लागू गरेको छ। तर यो रणनीतिमा जलवायु परिवर्तनले भूमिमा केकस्तो असर पुर्याउँछ र भूउपयोग परिवर्तनले जलवायु परिवर्तनका असर बढाउन कसरी भूमिका खेल्छ भन्नेबारे खासै उल्लेख छैन। प्रकोपबाट हुने क्षतिमा भूमिलाई गणना गरिने व्यवस्थित परिपाटी पनि छैन। त्यसैले आगामी दिनमा जलवायु परिवर्तनको रणनीति बनाउँदा भूमि उपयोगको विषयलाई पनि केन्द्रमा राख्नु जरुरी छ।
पोखरी धारा कुवाको पुन संरचना वर्षा पानी संकलन प्रणाली जलधार संरक्षण कार्यक्रम गरी जलस्रोतको संरक्षण गर्नुपर्दछ।मठ मन्दिरको मर्मत सम्भार परम्पारगत निर्माण साम्रगी र विधिको प्रयोग जलवायु सहनशील पुनः निर्माण मापदण्ड अपनाई सांस्कृतिक सम्पदा संरक्षण गर्ने गराउनुपर्ने देखिन्छ।गुठी व्यवस्थापनमा जलवायु परिवर्तन अनुकूलन योजना समावेश गर्ने स्थानीय तह वन उपभोक्ता समूह र गुठीयारसँग सहकार्य गर्ने।
गुठी सम्पतिको नियमित अभिलेखीकरण र डिजिटल नक्सा तयार गरी नीतिगत तथा संस्थागत व्यवस्थामार्पत न्यूनीकरण गर्न सकिन्छ।गुठी जग्गामा बहुउपयोगी आम्दानी (कृषि, पर्यटन, साँस्कृतिक कार्यक्रम) संचालन गर्ने हरित कोष वा जलवायु कोषको उपयोग गर्ने, गुठीयार, रकमी मार्फत समुदायमा जलवायु सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने ।
भू-उपयोगमा गुठी जग्गालाई राष्ट्रिय वा अन्तर्राष्टिय महत्वका दृष्टिले महत्वपूर्ण सम्पदा क्षेत्रभिका जग्गा, व्यवसायिक महत्वका जग्गा, बाली ठेक्का लगायतका नियमित आय प्राप्त हुने जग्गा र अन्य जग्गा गरी जग्गाको वर्गीकरण गरी जुन वर्गीकरणमा पर्ने हो, सोही कार्यमा मात्र उपयोग हुने गरी व्यवस्थापन मिलाउनुपर्ने हुन्छ।
अतः जलवायु परिवर्तनले गुठी जग्गाको उपयोग, संरक्षण र आम्दानी तीनै पक्षमा चुनौती सिर्जना गरेको छ। जलवायु परिवर्तनबाट अनुकुलित हुँदै जानु नै हाम्रो विकल्प हो । गुठी जग्गाको वर्गीकरण गरी कृषि प्रणाली अनुकुलित गर्दै जानु, जलाधार र नदी वेसिन प्रणालीहरु सुरक्षित बनाउनु, जैविक विविधता सुरक्षित गर्नु, ऐतिहासिक सम्पदाहरुको संरक्षण, जिर्णोद्धार, मर्मत सम्भार, नवनिर्माण लगायतका कार्यहरु गर्नु, वैज्ञानिक व्यवस्थापन, परम्परागत ज्ञान र आधुनिक जलवायु अनुकुलन उपायको अवलम्बन गरी गुठी जग्गालाई दिगो, सुरक्षित र लाभदायक रुपमा संरक्षण गर्नु आजको आवश्यकता हो।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया