काठमाडौं, मंसिर २९ – नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता) बनेको तथ्य सार्वजनिक भएको छ।
प्राधिकरणकी वरिष्ठ सहायक तथा सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी थिइन्। महाधिवेशनको उद्घाटन समारोहमा थापाको सहभागी भएको तस्बिर सार्वजनिक भएपछि उनले सरकारी कर्मचारीका लागि तोकिएको सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो।
सेवा सर्त विनियमावलीको परिच्छेद १३ को नियम १३० अनुसार कुनै पनि सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा संलग्न हुन वा निर्वाचनमा भाग लिन पाउँदैनन्। त्यस्तै, कुनै राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिन, मत माग्न वा राजनीतिक प्रचार–प्रसार गर्न पनि कर्मचारीलाई निषेध गरिएको छ।
प्राधिकरणको वितरण केन्द्र बुटवलका प्रमुख हरि पाण्डेले थापालाई पार्टी राजनीति गर्न चाहनु भए जागिर छाड्न आग्रह गरेको बताएका छन्। उनले भने, “सरकारी कर्मचारी राजनीतिक दलको सक्रिय कार्यकर्ता बन्न मिल्दैन, राजनीति गर्न चाहिने हो भने जागिर छाड्नुपर्छ भनेर स्पष्ट रूपमा भनेको हुँ।” पाण्डेका अनुसार उनले यस विषयमा माथिल्लो निकायलाई जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।
कल्पना थापा नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरी महिलातर्फ निर्वाचित भएकी थिइन्। १३ जनाबीचको प्रतिस्पर्धामा थापासँगै ज्ञानु केसी र विमला श्रेष्ठ निर्वाचित भएका थिए। तर सो निर्वाचनमा एमालेकै केही वरिष्ठ महिला नेतृहरू पराजित भएका थिए।
निर्वाचनमा सहभागी एक अग्रज महिला नेतृले भनेकी छन्, “राजनीति मात्र गर्दै आएका इमानदार महिलाहरू पछाडि पर्ने र सरकारी जागिर खाएर नियम उल्लंघन गर्दै राजनीति गर्नेहरूलाई पार्टी नेतृत्वले प्रश्रय दिनु गलत हो।”
यो घटनाले सरकारी कर्मचारीको राजनीतिक संलग्नता, नियम कार्यान्वयन र सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
काठमाडौँ-सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तो ...
प्रतिक्रिया