पशुपतिमा त्रिशूलको एक डामले बदलिन्छ भाग्य: बाच्छोबाट साँढे बन्ने रहस्य

पशुपति देवपतन।नेपाली ग्रामीण समाज र हिन्दू संस्कृतिमा ‘गोरु’ र ‘साँढे’ शब्द सुन्दा पर्यायवाची जस्तो लागे पनि यिनको सांस्कृतिक अर्थ, सामाजिक भूमिका र जीवन–यात्रा मौलिक रूपमा फरक छन्। गोरु श्रम, उत्पादन र कृषिसंस्कृतिको आधार हो भने साँढे त्याग, आस्था र सामूहिक स्वामित्वको जीवित प्रतीक मानिन्छ।

गोरु किसानको जीवनसँग अभिन्न रूपमा जोडिएको प्राणी हो। यसलाई दाम्लोमा बाँधेर हलो जोत्न, गाडा तान्न र खेतबारीका काममा प्रयोग गरिन्छ। गोरुको आफ्नै गोठ हुन्छ, जहाँ उसलाई घाँस–पराल, स्याहार र संरक्षण दिइन्छ। उसको सम्पूर्ण जीवन मानिसको नियन्त्रण, रेखदेख र उपयोगितामा बित्छ। यस अर्थमा गोरु नेपाली कृषिसंस्कृतिको मेरुदण्ड हो—श्रमको सम्मान र उत्पादनको आधार।

तर साँढेको कथा पूर्णतः भिन्न छ। साँढे कुनै व्यक्तिको निजी सम्पत्ति हुँदैन, न त ऊ कुनै गोठमा बाँधिन्छ। परम्पराअनुसार, ठूला यज्ञ, पूजा, व्रत, मन्दिर निर्माण वा धार्मिक अनुष्ठान सम्पन्न भएपछि बाच्छालाई ‘दान’ गर्ने चलन छ। यही दान गरिएको बाच्छो कालान्तरमा साँढे बन्छ। उसको निश्चित घर हुँदैन; मन्दिर परिसर, सडक र समाज नै उसको बासस्थान हुन्छ। ऊ ईश्वरको नाममा छाडिएको स्वतन्त्र जीव मानिन्छ।

पशुपति क्षेत्रमा हुने महासनान महाभोग पर्वसँग साँढे बनाउने ‘डाम्ने’ प्रक्रिया गहिरो रूपमा जोडिएको छ। पशुपतिनाथको दक्षिणपट्टि रहेको यज्ञशाला र धर्मशिला क्षेत्र नेपालको प्राचीन आस्था, न्याय र तान्त्रिक परम्पराको केन्द्रका रूपमा परिचित छ। हरेक पूर्णिमामा हुने महासनान महाभोगमा ‘६ मुरी, ६ पाथी, ६ माना र ६ मुठी’ भोग चढाइनुले हाम्रो परम्परागत नापतौल प्रणाली मात्र होइन, तान्त्रिक संख्या–विज्ञानको प्रतीकात्मक अर्थ पनि बोकेको विश्वास गरिन्छ।

साँढे बनाउने विधि अर्थात् ‘डाम्ने’ संस्कार अत्यन्त कठोर तर पवित्र मानिन्छ। यज्ञशालामा रातो हुने गरी तताइएको त्रिशूलले बाच्छाको शरीरमा विशेष चिह्न अङ्कित गरिन्छ। यही क्षणबाट उसको व्यक्तिगत स्वामित्व समाप्त हुन्छ र ऊ पशुपतिनाथ तथा समाजको साझा सम्पत्ति मानिन्छ। त्यसपछि डामिएको घाउमा गोबरको लेप लगाइन्छ, जुन हाम्रा पुर्खाहरूको प्राकृतिक उपचार पद्धतिको प्रमाणका रूपमा व्याख्या गरिन्छ।

पशुपति क्षेत्रको दक्षिणमा रहेको तामाको धर्मशिला पनि यस परम्परासँग जोडिएको छ। जनविश्वासअनुसार, यस शिलामा उभिएर बोलेको कुरा झुटो भए दैवी दण्ड पाइने मान्यता थियो। यही धर्मशिलाको सामीप्यमा साँढेलाई मुक्त गरिनुले उसलाई सत्य र न्यायको रक्षकका रूपमा प्रतीकात्मक अर्थ दिएको देखिन्छ।

इतिहासमा साँढेहरू वास्तवमा ‘बेसहारा’ थिएनन्। लिच्छवि र मल्लकालदेखि नै साँढेहरूको दाना–पानी, हेरचाह र स्वास्थ्यका लागि विशेष गुठीहरूको व्यवस्था थियो। ती गुठीका जग्गाबाट आउने आम्दानीले यिनको संरक्षण हुन्थ्यो। त्यसैले साँढेलाई ‘नगरको रक्षक’ मानिन्थ्यो। तर आज गुठी व्यवस्था कमजोर हुँदै जानु र तीव्र सहरीकरणका कारण यी पवित्र जीवहरू सडकमा जोखिमपूर्ण अवस्थामा देखिनुले हाम्रो सांस्कृतिक व्यवस्थापनमा आएको विचलनलाई उजागर गर्छ।

पशुपतिको यो ‘डाम्ने’ परम्परा केवल कर्मकाण्ड होइन; यो एउटा जीवलाई सामाजिक र आध्यात्मिक रूपमा पुनर्जन्म दिने प्रक्रिया हो। तातो त्रिशूलको एक डामले बाच्छो कुनै एक व्यक्तिको सम्पत्ति नरहेर सिङ्गो समाज र आराध्यदेव पशुपतिनाथको साझा सम्पत्ति बन्छ।

गोरु हाम्रो श्रमको सम्मान हो भने साँढे हाम्रो त्याग र आस्थाको प्रतीक। पशुपति क्षेत्रको यो जीवन्त परम्पराले नेपाली संस्कृति कति गहिरो, बहुआयामिक र विशिष्ट छ भन्ने कुरा स्पष्ट पार्छ—जहाँ पशु, समाज र ईश्वर एउटै सांस्कृतिक धागोमा बाँधिएका छन्।

प्रतिक्रिया

Recent Posts

छुटाउनुभयो कि ?

TOP