बारम्बार घाइते हुँदै आएको पुस्ता

बारम्बार घाइते हुँदै आएको पुस्ता

मन चिरिएको छ, आत्मा थाकेको छ। न निद्रा लाग्छ, न भोकै लाग्छ। लाग्छ, सारा देश जलिरहेको छ र त्यो आगोको तापमा आफ्नै आत्मा पनि खरानी हुँदैछ। दुई दिनको यो कहालीलाग्दो आँधीबेरीले केवल सडकहरू र संरचनाहरू मात्र होइन, हाम्रो मन, मस्तिष्क र आशासम्मलाई पनि झस्काइदिएको छ। आँसु सुकिसकेका छन्, वाक्यहरू अड्किएका छन्।

हाम्रो पुस्ता कति अभागी! २०४७ सालको आन्दोलनमा आशा देख्यौँ, परिवर्तनको सपना सुम्प्यौँ, तर बलिदान र पीडा मात्र हात लाग्यो। एक दशक लामो जनयुद्धमा सपनाहरू आहुति दियौँ, तर घाउमात्र बाँकी रह्यो। २०७२ सालको महाभूकम्पमा देशको मुटु चिरिएको देख्यौँ, पुनर्निर्माणको नाममा निराशा बोकेर बाँच्यौँ। र आज, २०८२ सालको यो आँधीबेरीमा, देश जलेर खरानी भएको देख्दा आफ्नै अस्तित्व र भविष्य फेरि खतरामा परेको महसुस हुन्छ।

इतिहासले बारम्बार हाम्रो पुस्तालाई दु:ख र आँसुको परिक्षा लियो। हामीले बोकेका सपना बारम्बार ध्वस्त भएको पीडा भोगिरहेका छौँ। पीडाको शृङ्खला यत्रतत्र छरिएको छ — सडकमा, घरमा, कार्यालयमा, र हाम्रो भित्री मनमा।

मन भन्छ, के हामी यो देशका लागि मात्र बलिदान हुने पुस्ता हौँ? कि कहिल्यै शान्ति र उज्यालो देख्न नपाउने पुस्ता? जब आशा पलाउँछ, त्यसै बेलामा निराशाको झंझावात आउँछ। तर इतिहासकै पाना पल्टाउँदा, प्रत्येक अँध्यारो पृष्ठपछि उज्यालो पृष्ठ आएको छ भन्ने सत्य पनि नकार्न सकिँदैन।

आजको पीडा केवल करुण तस्बिर होइन, चेतना र संकल्पको आह्वान पनि हो। हाम्रो पुस्ताको घाउहरू केवल सम्झना होइनन्, चेतावनी हुन् — कि यदि हामीले न्याय, पारदर्शिता र उत्तरदायित्व माग्न छोड्यौँ भने अर्को पुस्ताले अझ गहिरो पीडा भोग्नु पर्छ।

हामी बलिदानको मात्र पुस्ता होइन, सम्भावनाको पनि पुस्ता हौँ। आँधीबेरी थामिएपछि धुलो माटो बस्थ्यो, अनि नयाँ बिरुवा पलाउँछ। आजको आँसु र पीडा भोलिको सत्य र न्यायको बीउ बन्न सक्दछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
6 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP