धुर्मुस–भरतपुर विवाद चर्किँदै: ग्रीनकार्डदेखि रकम फ्रिज बहससम्म

भरतपुर मङ्सिर २७- भरतपुर रंगशाला निर्माणसँग जोडिएको विवाद दिनप्रतिदिन चर्किँदै गएको छ। कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाबीच देखिएको टकराव अहिले अमेरिका प्रस्थान, ग्रीनकार्डको अवस्था र आर्थिक पारदर्शितासम्म फैलिएको छ। यसैबीच, भरतपुरका सुरेन कुवरले सामाजिक सञ्जालमार्फत धुर्मुसमाथि योजनाबद्ध रूपमा साइबर बुलिङ् र जनमत प्रभावित पार्ने प्रयास गरेको गम्भीर आरोप सार्वजनिक गरेका छन्।

कुवरका अनुसार धुर्मुसले भरतपुर महानगरपालिका र नेतृत्वमाथि दबाब सिर्जना गर्न आफ्नै भाइ कुमार कट्टेललाई सञ्चार गृहहरूमा फाइलसहित पठाउँदै योजनाबद्ध प्रचार गराएका थिए। आफू भने प्राकृतिक चिकित्सालयमा उपचार गरिरहेको, माटो दलिरहेको दृश्य खिचेर फोटो तथा भिडियो सामग्री तयार पारिएको र ती सामग्रीलाई भावनात्मक रूपमा सार्वजनिक गरिएको उनको दाबी छ। सोही क्रममा धुर्मुसले भरतपुर महानगर कार्यालय पुगेर ‘अब यो कार्यालय कहिल्यै नआउने’ अभिव्यक्ति दिएको र रंगशालाकै कारण आफू बिरामी परेको दाबी गर्दै विभिन्न अन्तरवार्ता सार्वजनिक गरिएको उल्लेख गरिएको छ।

यी अन्तरवार्तापछि ठूलो संख्यामा सर्वसाधारणले वास्तविक तथ्य नबुझी धुर्मुसको समर्थन र भरतपुर महानगरको विरोधमा प्रतिक्रिया जनाएको कुवरको भनाइ छ। यस्तो अवस्थामा आफूले जनतालाई भ्रमबाट बाहिर ल्याउन सत्य तथ्य सार्वजनिक गर्न लेख्न थालेको उनले बताएका छन्। “सत्य बोल्ने सधैं एक्लो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि तथ्य लुकाउन मिल्दैन,” कुवरले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

कुवरले रंगशाला निर्माणका लागि संकलित रकम ‘फ्रिज’ भइसकेको भन्ने प्रचारलाई भ्रामक भनेका छन्। उनका अनुसार कानुनी रूपमा असार मसान्त अर्थात् असार ३० गतेसम्म भुक्तानी गर्न सकिने व्यवस्था कायम थियो। यस्तो अवस्थामा मंसिर महिनामै धुर्मुसले अत्यधिक दबाब, धर्ना र भावनात्मक अभिव्यक्ति किन दिए भन्ने प्रश्न उठाउनुपर्ने उनको तर्क छ।

त्यस्तै, धुर्मुस कलाकार भएकाले भावनात्मक प्रस्तुति र रोदन उनको स्वाभाविक शैली भए पनि यसपछाडि आफ्नो गुम्दै गएको साख फिर्ता ल्याउने उद्देश्य रहेको कुवरको आरोप छ। उनका अनुसार उक्त प्रयासले केही समय जनमत आफ्नो पक्षमा तान्न सफल भए पनि पछिल्ला तथ्य सार्वजनिक हुँदै जाँदा स्थिति उल्टिएको छ।

कुवरले सम्पूर्ण घटनाक्रम धुर्मुस सपरिवार अमेरिका जान लागेको समयसँग जोडिएको दाबी पनि गरेका छन्। सोही समयमा रकम संकलन भए आर्थिक रूपमा ठूलो फाइदा हुने अवस्था सिर्जना हुने उनको विश्लेषण छ। तर, “कानुन भावना होइन, ऐन र नियमका बुँदामा चल्छ,” भन्दै उनले मिल्ने विषय कसैले रोकेर नरोकिने र नमिल्ने विषय जति दबाब दिए पनि सम्भव नहुने स्पष्ट पारेका छन्।

यसैबीच, धुर्मुस उनकी श्रीमती र छोरीसहित अमेरिका पुगिसकेका छन्। अमेरिका पुगेपछि पनि उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत आफ्नो बचाउमा विभिन्न प्रतिक्रिया दिँदै आएका छन्। सोही क्रममा धुर्मुस र उनको परिवार ग्रीनकार्ड धारि  रहेको विषयसमेत सार्वजनिक भइसकेको छ।

रंगशाला निर्माण, आर्थिक व्यवस्थापन, अमेरिका प्रस्थान र ग्रीनकार्डसम्बन्धी तथ्य बाहिरिँदै जाँदा यतिबेला सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा धुर्मुसको चौतर्फी आलोचना र विरोध तीव्र बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP