सबै श्रमिकलाई सूचीकृत हुन मेयर अधिकारीको आह्वान

टोखा पुष २- टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगर क्षेत्रभित्र कार्यरत सम्पूर्ण श्रमिकलाई अनिवार्य रूपमा नगरपालिकामा सूचीकृत हुन आह्वान गर्दै श्रमिक बिना दर्ता असुरक्षित र अधिकारविहीन बन्ने अवस्था अन्त्य गर्न यो पहल गरिएको स्पष्ट पारेका छन्।

मंगलबार नगरपालिकामा स्थापना गरिएको श्रम डेस्कको उद्घाटन गर्दै मेयर अधिकारीले भने, “श्रमिक दर्ता केवल कागजी प्रक्रिया होइन, यो श्रमिकको सुरक्षा, सम्मान र अधिकारको प्रत्याभूति हो। अब टोखामा कुनै पनि श्रमिक बेखबर, बेवास्ता र बेआधार नहुने व्यवस्था गर्छौं।”

उनका अनुसार श्रम डेस्कमार्फत श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गरिने, श्रमिकका उजुरी तथा गुनासोको तत्काल सुनुवाइ गरिने, श्रमिक र रोजगारदाताबीच समन्वय गरिने तथा नियमित श्रम अनुगमन र निरीक्षणको प्रणाली लागू गरिनेछ। “श्रमिक र रोजगारदाताबीच विश्वासको सम्बन्ध स्थापित गर्नु नै श्रम डेस्कको मूल उद्देश्य हो,” मेयर अधिकारीले जोड दिए।

मेयर अधिकारीले वैदेशिक रोजगारीमा गएका तथा फर्किएका श्रमिकहरूको विस्तृत अभिलेख राखिने जानकारी दिँदै विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई नगरको विकासमा प्रयोग गरिने बताए। “विदेशबाट फर्केका युवाको सीप, अनुभव र श्रमलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्ने हाम्रो लक्ष्य हो,” उनले भने।

श्रम डेस्क स्थापना हुनुलाई नगरपालिकाको श्रमिकमैत्री नीति कार्यान्वयनको ठोस कदम भन्दै मेयर अधिकारीले यस कार्यमा साथ दिने श्रमिक, रोजगारदाता, नगरवासी तथा सहयोगी संघ–संस्थाप्रति धन्यवाद व्यक्त गरे।

श्रम डेस्क नगरपालिकाको पहिलो तलामा स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए। उनका अनुसार तरंगिनी फाउन्डेसनसहित श्रमिक हकहितका क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाको प्राविधिक तथा संस्थागत सहयोगमा श्रम डेस्क सञ्चालनमा ल्याइएको हो।

१५० जनाको सहभागितामा सम्पन्न उद्घाटन समारोहमा जनप्रतिनिधि, कर्मचारी, जिफन्ट बागमती प्रदेशका पदाधिकारी, श्रम अनुसन्धानकर्ता तथा श्रमिक अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय तहबाट गरिएको यो श्रमिकमैत्री पहल उदाहरणीय भएको प्रतिक्रिया दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP