सरकारी पोखरीको जग्गा व्यक्तिका नाममा दर्ता : मालपोतका कर्मचारीसहित तीनविरुद्ध मुद्दा दर्ता

काठमाडौं ,माघ २०-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालयका कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला महोत्तरी, साबिक ईटरहर्वाकट्टी गाउँ विकास समिति वडा नं. ३ को कित्ता नं. १२७ (क्षेत्रफल ०–५–१२) को सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको हो।

अनुसन्धानका क्रममा उक्त जग्गा प्रारम्भिक नापी (फिल्डबुक) मा “प.प्रमाणित (पर्ती प्रमाणित)” र “विरहमा पोखरी” भनी उल्लेख भएको तथा किसानको महल खाली रहेको देखिएको थियो। यो जग्गा सरकारी सार्वजनिक सम्पत्ति भए पनि भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरका कर्मचारीहरूको मिलेमतोमा राजिव कुमार ठाकुरको नाममा दर्ता गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार जग्गा दर्ता गर्दा आवश्यक कानुनी आधार (राजीनामा, अदालतको फैसला, नामसारी, अंशबण्डा वा छुट दर्ता प्रक्रिया) केही पनि नदेखिएको, स्रेस्तामा वडा नम्बरसमेत उल्लेख नगरिएको तथा कम्प्युटर प्रणालीमा २०८० असार ८ गते मात्रै विवरण प्रविष्ट गरिएको पाइएको छ।

यस आधारमा अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरमा कार्यरत नायब सुब्बा परमानन्द साह, कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंह र जग्गा दर्ता गराइएका व्यक्ति राजिव कुमार ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको हो।

अख्तियारले नायब सुब्बा परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंहविरुद्ध जनही रू. १७,२५,००० बिगो कायम गरी कैद र जरिवाना माग गरेको छ भने सरकारी कागजातमा केरमेट, थपघट र हेरफेर गरेको आरोपमा थप सजाय माग गरेको छ।

त्यस्तै राजिव कुमार ठाकुरलाई मुख्य कसुरदारको मतियार ठहर गर्दै समान बिगो र समान सजाय माग गरिएको छ। भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरले उपलब्ध गराएको न्यूनतम मूल्याङ्कनअनुसार उक्त जग्गाको मूल्य प्रतिकठ्ठा रू. ३ लाखका दरले कुल रू. १७ लाख २५ हजार निर्धारण गरिएको छ।

अख्तियारले उक्त जग्गा सरकारी सार्वजनिक सम्पत्ति भएकाले गैरकानुनी रूपमा व्यक्तिको नाममा कायम गरिएको दर्ता बदर गरी बिगो असुल उपर गर्नसमेत माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP