ग्यास–खानेतेलमा कृत्रिम अभाव: विभागको आकस्मिक बजार अनुगमन

काठमाडौँ, माघ २७ — राजधानीमा खानेतेल र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबारदेखि आकस्मिक बजार अनुगमन तीव्र पारेको छ। विभागले काठमाडौंका विभिन्न क्षेत्रका गोदाम, डिलर र खुद्रा पसलमा स्थलगत निरीक्षण गर्दै आपूर्ति अवस्था, मौज्दात र मूल्य अवस्थाबारे जाँच सुरु गरेको हो।

विभागले अन्य नियामक निकायसँगको सहकार्यमा संयुक्त अनुगमन टोली परिचालन गरी उत्पादक, आयातकर्ता, थोक तथा खुद्रा व्यापारी र सञ्चयकर्ताको गतिविधि निगरानी गरिरहेको जनाएको छ। कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने, मूल्य बढाउने र आपूर्ति अवरुद्ध गर्नेहरूमाथि तत्काल कारबाही अघि बढाइएको विभागले बताएको छ।

पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यास सहज रूपमा नपाइएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। कतिपय डिलरले आपूर्ति रोक्ने, सिलिन्डर नदिने वा अतिरिक्त रकम असुल्ने गरेको आरोपसमेत लागेको छ। यसैलाई दृष्टिगत गर्दै विभागले आकस्मिक अनुगमन थालेको हो।

विभागले प्रचलित कानुन विपरीत सञ्चय, कालोबजारी, मिसावट, कृत्रिम अभाव वा मूल्यवृद्धि गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ।

नेपाल आयल निगमले भने बजारमा ग्यासको पर्याप्त आपूर्ति रहेको दाबी गर्दै आएको छ। तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्दै विभागमा उजुरी बढेपछि सरकारले हस्तक्षेप बढाएको हो।

विभागले अनुगमनलाई निरन्तरता दिने र दोषी भेटिए तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

Recent Posts

छुटाउनुभयो कि ?

TOP