बालेनलाई ८ करोडको गाडी उपहार, भोलाको भाउ बढाएर सर्वसाधारणमाथि मार परेको आरोप

काठमाडौं,माघ २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई व्यापारी कमलकिशोर मालपानीले करिब आठ करोड रुपैयाँ पर्ने ल्याण्ड रोभर डिफेण्डर गाडी उपहार दिएको विषय विवादमा तानिएको छ। उक्त गाडी दिएलगत्तै मालपानीको कम्पनीले सूर्तीजन्य पदार्थ भोलाको मूल्य एकैपटक ठूलो मात्रामा बढाएको भन्दै सर्वसाधारणमाथि आर्थिक भार थपिएको आरोप लागेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेन यतिबेला बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्ड रोभर डिफेण्डरमा चुनावी दौडाहामा छन्। उक्त गाडी मालपानीकै स्वामित्वको रहेको र उनले भन्सार छुटमा आयात गरेका दुईमध्ये एउटा गाडी बालेनलाई दिएको स्रोत बताउँछ।

उद्योग स्रोतका अनुसार मालपानीको कम्पनी श्रीराम टोबाको उद्योग प्रालिले करिब एक साताअघि भोलाको मूल्य बोरामै दुई हजार रुपैयाँले बढाएको छ। कम्पनीले दैनिक करिब १ हजार ३ सय बोरा भोला उत्पादन गर्छ।
यसअघि एक बोरा (१६.५ किलो) भोलाको मूल्य ३५ हजार रुपैयाँ रहेकोमा अहिले ३७ हजार रुपैयाँ पुर्याइएको छ। यस आधारमा कम्पनीको दैनिक आम्दानी करिब २६ लाख रुपैयाँले बढेको स्रोतको दाबी छ।

मूल्यवृद्धिसँगै कम्पनीले पहिले उधारोमा सामान दिने गरेकोमा अहिले नगद भुक्तानी अनिवार्य गरेको बताइएको छ। करिब चार सय डिलरमार्फत बजारमा आपूर्ति हुँदै आएको भोला महँगो हुँदा उपभोक्तामाथि प्रत्यक्ष असर पर्ने देखिन्छ।

मालपानीको कम्पनीले सूर्यमुखी तेलमा प्रतिलिटर २० रुपैयाँ बढाएको पनि स्रोतले जनाएको छ। चुनावी खर्च जुटाउन सामानको मूल्य बढाइएको चर्चा व्यवसायी वृत्तमा चलिरहेको बताइएको छ।

श्रीराम टोबाको उद्योग यसअघि पनि राजस्व छली र तस्करीको आरोपमा विवादित रहँदै आएको छ। राजस्व अनुसन्धान विभागले केही वर्षअघि मालपानीसहित सात जनाविरुद्ध करोडौं रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको थियो।

सूर्तीजन्य पदार्थका एक उत्पादकले हाल मूल्य बढाउनुपर्ने कुनै आधार नरहेको बताए। “अहिले भोलाको मूल्य बढाउनुपर्ने कुनै कारण छैन, किन बढाइयो बुझ्न सकिएको छैन,” उनले भने।

काठमाडौंमा भोलाको आधिकारिक डिलर पशुपति पराग सप्लायर्सका म्यानेजर विजयले हालसम्म भोला नआएको जानकारी दिए। “सुपारी आएको छ, तर भोला आएको छैन। गाडी अभावले नपठाएको भनिएको छ। हामीलाई आधिकारिक रूपमा मूल्यवृद्धिको सूचना आएको छैन,” उनले बताए।

मालपानी मुलुककै सबैभन्दा ठूलो सुपारी आयातकर्तामध्ये एक हुन्। स्रोतका अनुसार उनको कम्पनीले करिब ३० करोड रुपैयाँ बराबरको कुहिएको सुपारी बजारमा कृत्रिम अभाव सिर्जना गरेर बिक्री गरेको आरोप छ।
“३० करोडको सुपारी कुहिएको थियो, तर मालपानीले बजारमा अभाव देखाएर बेचेरै छोडे,” स्रोतले दाबी गरेको छ।

यस विषयमा मालपानी पक्षको आधिकारिक धारणा भने आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP