धुलिखेल–खावा सडक स्तरोन्नति: राति सवारी बन्द, काम तीव्र

धुलिखेल–खावा सडक स्तरोन्नति: राति सवारी बन्द, काम तीव्र

काभ्रेपलाञ्चोक। अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारीसाधन आवागमनमा अस्थायी रोक लगाइएको छ। डिभिजन सडक कार्यालय भक्तपुर का अनुसार शनिबार रातिदेखि लागू हुनेगरी दुई हप्तासम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको हो।

यो अवधिमा टिपरलगायत मालवाहक सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको छ भने अन्य सवारीसाधन पनि रातिको समयमा सञ्चालन गर्न पाइने छैन। चार किलोमिटर सडकखण्डमध्ये चालु महिनामा २.५ किलोमिटर र बाँकी भाग वैशाखमा कालोपत्र गर्ने लक्ष्य लिइएको छ।

सिनियर डिभिजनल इन्जिनियर सुनम योगेश का अनुसार सुरुमा ‘सिटीभी’ (सब–बेस) हालेर त्यसपछि कालोपत्र गर्ने योजना छ। चिसो मौसमका कारण केही समय रोकिएको सतह निर्माण कार्य अहिले मौसम सुधारसँगै अघि बढाइएको हो।

उक्त सडकखण्डमा पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिनेछ भने सात मिटर चौडाइको सडक निर्माण गरिने लक्ष्य छ। हाल टेवा पर्खाल र साना संरचनाको काम भइरहेको छ।

यसअघि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण परियोजना लामो समय अलपत्र परेको थियो। पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीसँग करिब रु ३१ करोड ५६ लाखमा सम्झौता भएपछि कामले गति लिएको हो।

धुलिखेल–खावा सडक तातोपानी नाका हुँदै चीन जोडिने मुख्य मार्गका रूपमा महत्वपूर्ण मानिन्छ। यस सडकमा भारी सवारीको चापलाई ध्यानमा राख्दै २० सेन्टिमिटर बाक्लो सिमेन्ट बेस र दुई तहको कालोपत्र (डिबीएम र आस्फाल्ट) प्रविधि प्रयोग गरिने बताइएको छ।

तीन वर्षदेखि ढिलासुस्तीका कारण कष्टकर बनेको यात्रा अब सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP