गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन निर्णयपछि उपत्यका ‘हाई अलर्ट’मा, ओली निवास वरिपरि कडा सुरक्षा

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन निर्णयपछि उपत्यका ‘हाई अलर्ट’मा, ओली निवास वरिपरि कडा सुरक्षा

काठमाडौं।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ भने विभिन्न संवेदनशील क्षेत्रमा निगरानी उल्लेख्य रूपमा बढाइएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवास वरपर विशेष सुरक्षा सतर्कता अपनाइएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिलाई बढाइएको छ भने आवागमनमाथि समेत सूक्ष्म निगरानी सुरु गरिएको जनाइएको छ।

सुरक्षा निकायभित्र ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयमा आन्तरिक रूपमा छलफल भए पनि हालसम्म कुनै ठोस निर्णय भने भइसकेको छैन। यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित सबै विकल्प खुला राखिएको स्रोतको भनाइ छ।

यसैबीच, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको नक्सालस्थित सरकारी निवासमा गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूबीच उच्चस्तरीय छलफल जारी रहेको छ। बैठकमा समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम र त्यसको सामना गर्ने रणनीतिबारे गहन समीक्षा भइरहेको जनाइएको छ।

यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्ना मातहतका सबै इकाइहरूलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेका छन्। काठमाडौँ उपत्यकाभित्रका सबै सुरक्षा युनिटहरूलाई आकस्मिक परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ।

सरकारले ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेपछि राजनीतिक तथा सुरक्षा वृत्तमा तरंग उत्पन्न भएको छ। प्रतिवेदन कार्यान्वयनसँगै थप राजनीतिक र कानुनी प्रक्रियाहरू अघि बढ्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP