काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले देशव्यापी दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यालयका अनुसार गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणना सुरु हुने कार्यतालिका रहेको छ। स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग प्रतिष्ठान, व्यवसायी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। उनले औद्योगिक तथा समग्र आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन राष्ट्रका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोगको अपिल गरेका छन्।
यस गणनाअन्तर्गत आर्थिक क्षेत्रका १८ वटा विधामा आधारभूत विवरण संकलन गरिनेछ। उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा सार्वजनिक र निजी संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण समेटिनेछ।
त्यसैगरी दर्ता भएका वा नभएका साना–ठूला सबै प्रकारका व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने संस्थाहरू तथा स्वरोजगारमा आधारित व्यवसायको पनि गणना गरिनेछ। उद्योग, कलकारखाना, व्यापारिक संस्था, गैरसरकारी संघसंस्था, सरकारी निकाय, विद्यालय र अस्पतालसमेत समेटिने जनाइएको छ।
गणना तयारीको पूर्वचरण फागुन मसान्तमै सम्पन्न भइसकेको छ भने चैतको सुरुवातमा ७७ जिल्ला र थप ७ गरी ८४ कार्यालय स्थापना गरिएको छ। ती कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
राष्ट्रिय तथ्यांक कार्यालयले सबै सरोकारवालालाई सही र पूर्ण विवरण उपलब्ध गराई अभियान सफल बनाउन आग्रह गरेको छ। कार्यालयका अनुसार आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैको सहभागिता आवश्यक छ।
यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!