नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, नेपालीले पनि भारतमा क्यूआर भुक्तानी गर्न पाउने

नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, नेपालीले पनि भारतमा क्यूआर भुक्तानी गर्न पाउने

काठमाडौं। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछिको पुनर्निर्माण परियोजना हस्तान्तरण तथा भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार निर्माणका विषयमा महत्वपूर्ण सहमति भएको छ।

भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा उक्त सहमति भएको हो।

बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था अगाडि बढेको छ। यसअघि नेपालमा आउने भारतीय पर्यटक, विद्यार्थी तथा बिरामीले क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भए पनि भारत भ्रमण गर्ने नेपालीले सो सुविधा पाएका थिएनन्।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई) बीच २०२३ मा भएको समझदारीअनुसार सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भए पनि पारस्परिक सेवा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन। नेपाली अधिकारीहरूका अनुसार दुवै देशले उच्चस्तरीय राजनीतिक घोषणामार्फत सेवा शुभारम्भ गर्न चाहेकाले प्रक्रिया केही समय लम्बिएको थियो। मन्त्री खनालको भ्रमणसँगै उक्त समझदारीले अब मूर्त रूप लिने भएको छ।

यस्तै, २०७२ सालको विनाशकारी भूकम्पपछि भारतको सहयोगमा पुनर्निर्माण गरिएका स्वास्थ्य क्षेत्रका ७२ र सांस्कृतिक क्षेत्रका १२ परियोजना शनिबार औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले एक अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराएको थियो।

बैठकका क्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’ बीच भाषा अनुवादमा आधारित ‘भोइस फर्स्ट’ प्लेटफर्म विकासका लागि संयुक्त राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार दुवै मन्त्रीबीच व्यापार तथा आर्थिक सहकार्य, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको थियो। दुवै पक्षले विकास साझेदारीलाई थप सुदृढ बनाउने र सञ्चालनमा रहेका द्विपक्षीय आयोजनाहरूलाई तीव्रता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

वार्तामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय मञ्चहरूमा सहकार्य तथा उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्धलाई अझ व्यापक र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ।

नेपाल र भारतले विकास साझेदारी, कनेक्टिभिटी तथा साझा प्राथमिकताका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP