भदौ १९ पछि दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा पूर्ण बन्द हुने

काठमाडौं भदौ १६-सर्वोच्च अदालतको आदेश र नेपाल सरकारको निर्णयअनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाल भदौ १९ गतेपछि नेपालमा पूर्ण रूपमा बन्द हुने भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार रेड मिडियालाइ  जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौडेलका अनुसार नेपाल सरकारले पटक–पटक फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत कम्पनीहरूलाई पत्राचार गरी दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरिसकेको छ। तर ती कम्पनीहरूले नेपालको कानुनलाई बेवास्ता गर्दै अहिलेसम्म दर्ता नभएको उनले बताए।

“सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नु सरकारको कर्तव्य हो। आम नेपाली जनतालाई यस निर्णयमा साथ दिन आग्रह गर्दछौं,” पौडेलले भने।

अन्तिम सूचना जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले अनिवार्य रूपमा नेपालमा दर्ता हुनुपर्ने स्पष्ट पारेको छ। यदि भदौ १९ गतेसम्म पनि दर्ता प्रक्रिया पूरा नगर्ने हो भने ती कम्पनीहरूको सेवा नेपालमा अवरुद्ध हुने चेतावनी सरकारले दिएको छ।

यसबीच सञ्चार विज्ञ रमेश ढकालले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्नु राज्य सार्वभौमिकताको प्रश्न भएको टिप्पणी गरे। “कर, कानुनी जिम्मेवारी र प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न दर्ता अपरिहार्य छ। अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालको कानुनलाई मान्नैपर्छ,” उनले भने।

प्रयोगकर्ताको तर्फबाट भने केही असन्तुष्टि देखिएको छ। काठमाडौँकी विश्वविद्यालय विद्यार्थी सविता तामाङ भन्छिन्, “सामाजिक सञ्जाल बन्द हुँदा हाम्रो अध्ययन र व्यवसायिक गतिविधि प्रभावित हुन्छ। सरकारले विकल्पबारे पनि सोच्नुपर्छ।”

यसरी, भदौ १९ पछि दर्ता प्रक्रिया पुरा नगरेका सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा आफ्नो सेवा गुमाउने देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
एक घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP