राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको CT Scan खरिद प्रकरणमा २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,माघ १६-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा १२८ स्लाइस CT Scan मेसिन खरिदमा गम्भीर आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित पदाधिकारी, कर्मचारी तथा आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो गरी कम गुणस्तरको CT Scan मेसिन खरिद गरिएको पाइएको हो। सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत खरिद प्रक्रिया अघि बढाई प्रतिष्ठानलाई आर्थिक हानी पुर्‍याइएको आयोगको ठहर छ।

अनुसन्धानमा खरिद आवश्यकताको पहिचान तथा खरिद गुरुयोजना नबनाई प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान तयार गरिएको, राष्ट्रियस्तरको बोलपत्र (NCB) मा अन्तर्राष्ट्रिय बोलपत्र (ICB) का प्रावधान राखिएको, लागत अनुमान संशोधन नगरी प्राविधिक स्पेसिफिकेशन फेरबदल गरिएको तथा प्राविधिक मूल्याङ्कन कानुनबमोजिम नगरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

हिमालयन मेडिटेक प्रा.लि.ले आपूर्ति गरेको Neusoft कम्पनीको Neuviz 128 CT Scan मेसिन प्राविधिक मापदण्डअनुसार नपुगेको, Catalog मा उल्लेखित क्षमताभन्दा फरक विवरण ‘Comply’ देखाई गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरिएको तथा US-FDA बाट recall अवस्थामा रहेको मेसिनलाई स्वीकृत गरिएको आरोपपत्रमा उल्लेख छ।

यस प्रकरणमा CT Scan खरिद तथा भुक्तानीका क्रममा कुल रु. ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा खर्च भएको देखिएको छ। कबोल मूल्यभन्दा बढी खर्च गराई प्रतिष्ठानलाई थप आर्थिक भार परेको अख्तियारको दाबी छ।

अख्तियारले तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी, का.मु. रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम वि.सी., बायोमेडिकल इन्जिनियरहरू, अन्य कर्मचारीहरू तथा हिमालयन मेडिटेक प्रा.लि. र कम्पनीका प्रतिनिधिहरू अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याउने यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP