घुस लिँदै गर्दा भन्सार र हुलाकका कर्मचारी नियन्त्रणमा, २ लाख ६८ हजार बरामद

काठमाडौं,माघ १९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र गोश्वारा हुलाक कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले माघ १८ गते डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट उनीहरूलाई दसी प्रमाणसहित पक्राउ गरेको हो।

नियन्त्रणमा पर्नेमा अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभाग, गोश्वारा हुलाक कार्यालय (पार्सल–निकासी शाखा) मा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।

कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।
अनुसन्धानका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षको टेबुलको दराजबाट घुसबापत लिइसकेको रु. १०,००० र स्रोत नखुलेको रु. ४०,३५० तथा निजको साथबाट थप रु. ९६,०७० गरी जम्मा रु. १,४६,४२० बरामद गरिएको छ।

त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसबापत लिइसकेको रु. २०,००० र स्रोत नखुलेको रु. १८,८४८ गरी जम्मा रु. ३८,८४८ बरामद भएको छ।
यसरी दुवै जनाबाट स्रोत नखुलेको रकमसमेत गरी कुल रु. २,६८,२८८ (दुई लाख अडसठ्ठी हजार दुई सय अठासी रुपैयाँ) बरामद गरिएको अख्तियारले जनाएको छ।

यससँगै विभिन्न व्यक्तिहरूबाट मोबाइल सेट २३ थान समेत नियन्त्रणमा लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
14 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP