काठमाडौं,माघ २०— प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मुलुकको सुरक्षा संरचना अभूतपूर्व रूपमा कडा बन्दै गएको छ। बुधबार (२१ माघ) देखि नेपाली सेना देशभर फिल्डमा उत्रिँदैछ, जसले चुनावी सुरक्षा व्यवस्थालाई पूर्ण ‘हाइ अलर्ट’मा पुर्याउने संकेत दिएको छ। बम डिस्पोजल टोली, सशक्त गस्ती, हवाई निगरानी र संवेदनशील संरचनाको प्रत्यक्ष सुरक्षा जिम्मासहित सेना निर्णायक भूमिकामा देखिने भएको छ।
एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना २१ माघदेखि नियमित गस्तीमा खटिने तय भइसकेको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सबै तयारी पूरा भएको पुष्टि गर्दै फिल्ड परिचालन सुरु हुने बताएका छन्। देशभर ७९ हजार ७२७ सैनिक खटिनेछन्, जसले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर संयुक्त तथा स्वतन्त्र गस्ती गर्नेछन्। सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै तेस्रो सुरक्षा घेरामा रहेर रणनीतिक ड्युटी गर्नेछ।
मन्त्रिपरिषद्को सिफारिसपछि ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन स्वीकृत गरेका थिए। त्यसलगत्तै सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारेर विशेष तालिम तथा अभ्यास सञ्चालन गरेको थियो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय सुरक्षा समितिबाट पारित भएपछि अहिले सोही योजनाअनुसार सम्पूर्ण सुरक्षा संयन्त्र सक्रिय भएको छ।
यसपटकको निर्वाचन सुरक्षामा आकाश पनि सेनाको नियन्त्रणमा रहनेछ। विकट र अतिसंवेदनशील क्षेत्रमा सेनाले नियमित हवाई गस्ती गर्नेछ भने मतदानअघि, मतदानको दिन र मतदानपछि पनि हेलिकप्टर परिचालन हुनेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा पाँचवटा स्ट्याण्डबाई हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। आकस्मिक अवस्था आएमा सेना तत्कालै हवाई माध्यमबाट फिल्डमा पुग्नेछ। सडक पहुँच नभएका क्षेत्रमा मतपत्र र मतपेटिका ढुवानीको सम्पूर्ण जिम्मा सेनाले लिनेछ भने मतदानपछि ती सामग्री सुरक्षित रूपमा गणनास्थलसम्म पुर्याइनेछ।
निर्वाचन बिथोल्न खोज्ने तत्वबाट सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ। अति संवेदनशील मतदानस्थललाई केन्द्रित गरेर यी टोली खटाइनेछन्। विगतमा होक्स बम राखेर त्रास फैलाउने प्रयास भएका भए पनि यसपटक त्यस्ता समूह संगठित रूपमा बलियो देखिएका छैनन्। तथापि, सुरक्षा निकायले कुनै पनि जोखिम नलिने गरी सतर्कता अधिकतम स्तरमा पुर्याएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा मतदान केन्द्रमा खटिने भएकाले महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अन्य विमानस्थल, कारागार, सिंहदरबार र अन्य रणनीतिक प्रतिष्ठानमा सेनाले प्रत्यक्ष सुरक्षा प्रदान गर्नेछ। यसअघि पनि निर्वाचनका बेला यस्ता संवेदनशील संरचनाको सुरक्षा सेनाले सम्हाल्दै आएको थियो।
आगामी निर्वाचनमा कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुँदैछन्। जसमा नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ५९७, निर्वाचन प्रहरी १ लाख ३० हजार ९८०, सशस्त्र प्रहरी ३४ हजार ५७६, सशस्त्र मातहतका निर्वाचन प्रहरी १५ हजार ११० र १ हजार ९२१ गुप्तचर परिचालित हुनेछन्।
सुरक्षा संवेदनशीलताको आधारमा देशभरका मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ। प्रहरीको आन्तरिक रिपोर्टअनुसार ३ हजार ६८० मतदानस्थल अति संवेदनशील सूचीमा छन्। सबैभन्दा चुनौतीपूर्ण प्रदेश मधेश मानिएको छ, जहाँ मात्रै १ हजार २४६ मतदानस्थल उच्च जोखिममा छन्।
सप्तरीमा २०९, सिरहामा १६३, धनुषामा १९४, महोत्तरीमा १६३, सर्लाहीमा १५८, रौतहटमा १५२, बारामा १४५ र पर्सामा ६२ मतदानस्थल अति संवेदनशील छन्। त्यसैगरी कोशीमा ४३९, बागमतीमा ३५४, गण्डकीमा ३२८, लुम्बिनीमा ३४, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ मतदानस्थल उच्च जोखिममा राखिएका छन्।
समग्रमा, यसपटकको निर्वाचनमा राज्यले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ। जमिनदेखि आकाशसम्म सेना सक्रिय रहनेछ, जसले चुनावी प्रक्रियालाई सुरक्षित, व्यवस्थित र निर्वाध रूपमा सम्पन्न गराउने लक्ष्य राखेको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया