अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ। आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो, तर टोलीले पाँच रन मात्र जोड्न सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरे। ४२–२ को स्थितिमा क्रिजमा आएका दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ८२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको मध्यक्रम बलियो बनाएका थिए। तर, १४.२ ओभरमा दीपेन्द्र आउट भए। त्यसपछि स्कोरबोर्डमा दुई रन मात्रै थप्दा कप्तान रोहित पनि पभेलियन फर्किए। रोहितले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए।

लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन जोडे। उनले १९५ को स्ट्राइक रेटमा चार चौका र चार छक्का प्रहार गरे। नेपालले १७.२ ओभरमा आरिफ शेखलाई गुमायो। उनलाई जोफ्रा आर्चरले जस बटलरको हातबाट क्याच गराए। आरिफले आठ बलमा एक छक्कासहित १० रन बनाए।

ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाएर राम्रो सुरुआत दिलाउने प्रयास गरे। उनले चार चौका र एक छक्का प्रहार गरे, तर विल ज्याक्सले ५.२ ओभरमा ‘कट एन्ड बोल्ड’ गर्दै उनलाई आउट गरे। अर्का ओपनर आसिफ शेख भने नौ बलमा सात रन बनाएर सस्तैमा आउट भए।
इंग्ल्यान्डका लियम ड्वसनले चार ओभरमा २१ रन दिएर दुई विकेट लिए। जोफ्रा आर्चर, लुक वुड, विल ज्याक्स र साम करनले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाएर १८४ रन बनाएको थियो। इंग्ल्यान्डका ज्याकोब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित ५५ रन बनाए। ५७–३ को स्थितिबाट उनले कप्तान ह्यारी ब्रुकसँग पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गरे।
ब्रुकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए। जस बटलरले १७ बलमा २६ रन जोडे। फिल साल्टलाई भने नेपालका शेर मल्लले एक रनमै आउट गरे।

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। दीपेन्द्रले ज्याकोब बेथेल र साम करनलाई आउट गरे भने नन्दनले जस बटलर र ह्यारी ब्रुकको विकेट लिए। सन्दीप लामिछानेले टम बान्टमलाई एलबीडब्लू आउट गरे भने शेर मल्लले फिल साल्टलाई पभेलियन फर्काए—यो शेरको टी–२० अन्तर्राष्ट्रिय डेब्यु विकेटसमेत हो।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

“मधेशको आवाज संसदमा बलियो बनाउन सर्लाही–३ रोजेँ: नारायणकाजी श्रेष्ठ”
14 घण्टा अघि

सर्लाही,माघ २५- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्र ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP