अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर्दै अब निजी सवारीलाई भन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिने स्पष्ट नीति अघि सारेको छ। महानगरले नागरिकलाई निजी कार छोडेर सार्वजनिक बस रोज्ने वातावरण निर्माण गर्ने गरी योजनाबद्ध रूपमा काम अघि बढाउने घोषणा गरेको हो।

आइतबार महानगरपालिकामा आयोजित “सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गर्ने संघसंस्था तथा अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट” कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौंको सडक संस्कृतिलाई ‘कार केन्द्रित’ बाट ‘बस केन्द्रित’ बनाउने गरी काम गरिने बताएका छन्।

कार्यवाहक मेयर डंगोलले राजधानीमा अब नागरिक बाध्यताले होइन, सहजताले सार्वजनिक यातायात रोज्ने अवस्था सिर्जना गर्ने गरी महानगर अघि बढेको बताइन्। उनले सार्वजनिक यातायात सुधारमा सबै सरोकारवालासँग सहकार्य गर्दै सहभागितामूलक र साझेदारितामूलक मोडेलमा काम गरिने स्पष्ट पारिन्।

महानगरले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन पूर्वाधार सुधारलाई मुख्य प्राथमिकता दिएको छ। वातावरणमैत्री र यात्रुमैत्री बस सेवा सञ्चालन, व्यवस्थित बस बिसौनी निर्माण, पैदलयात्री तथा अपाङ्गमैत्री सडक संरचना विकास, र साइकल लेन व्यवस्थापन जस्ता विषयलाई योजनामा समेटिएको छ।

त्यस्तै, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली लागू गर्ने तयारी महानगरले गरेको छ। यसअन्तर्गत यात्रुले एकै कार्ड वा डिजिटल प्रणालीमार्फत विभिन्न सार्वजनिक सवारी प्रयोग गर्न सक्ने व्यवस्था गरिनेछ। वास्तविक समयमा आधारित बस ट्र्याकिङ तथा सूचना प्रणाली विकास गरी यात्रुलाई बसको आगमन समयबारे जानकारी दिने योजना पनि अघि बढाइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विकसित प्रणालीहरू केवल अध्ययन र योजनामा सीमित नराखी कार्यान्वयनमा ल्याइने बताए। उनले बस बिसौनीमा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, सुरक्षित पैदल मार्ग व्यवस्थापन र व्यवस्थित पार्किङ प्रणाली विकासमा पनि महानगरले ध्यान दिने उल्लेख गरे।

यद्यपि, महानगरले सार्वजनिक यातायात व्यवस्थापनमा ठूलो चुनौती रहेको स्वीकार गरेको छ। अव्यवस्थित रुट, अस्तव्यस्त बस बिसौनी, अपाङ्गमैत्री संरचनाको अभाव, पैदलयात्री असुरक्षा र ट्राफिक जाम जस्ता समस्या समाधान गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको महानगरको भनाइ छ।

महानगरको यो पहल सफल भए काठमाडौंमा निजी सवारीको अत्यधिक निर्भरता घट्ने, ट्राफिक जाम कम हुने, वायु प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने र सर्वसाधारणका लागि सुरक्षित तथा सहज यात्रा सुनिश्चित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

“मधेशको आवाज संसदमा बलियो बनाउन सर्लाही–३ रोजेँ: नारायणकाजी श्रेष्ठ”
14 घण्टा अघि

सर्लाही,माघ २५- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्र ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP