“मधेशको आवाज संसदमा बलियो बनाउन सर्लाही–३ रोजेँ: नारायणकाजी श्रेष्ठ”

सर्लाही,माघ २५- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू सर्लाही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुको कारण खुलाउँदै यो निर्णय व्यक्तिगत महत्वाकांक्षा नभई मधेश, श्रमजीवी जनता र राष्ट्रिय स्वाधीनताको पक्षमा संसदमा बलियो हस्तक्षेप गर्नका लागि भएको बताएका छन्।

सर्लाही–३ मा आयोजित कार्यकर्ता भेटघाट तथा अगुवा भेला कार्यक्रममा उनले आफूले सहज निर्वाचन क्षेत्र खोजेर नभई राजनीतिक रूपमा चुनौतीपूर्ण, तर सामाजिक–आर्थिक रूपान्तरणका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र रोजेको स्पष्ट पारे।

श्रेष्ठले सर्लाही–३ ऐतिहासिक रूपमा श्रम, उत्पादन र मधेश आन्दोलनसँग जोडिएको क्षेत्र भएकाले यहाँबाट निर्वाचित भएर संसदमा मधेशको मुद्दा, किसानको समस्या, बेरोजगारी, मिटरब्याज, शिक्षा–स्वास्थ्य र सुशासनका विषयलाई प्रभावकारी ढंगले उठाउने उद्देश्य रहेको बताए।
“मलाई सुरक्षित क्षेत्र चाहिएको भए अन्य ठाउँ रोज्न सक्थेँ, तर म सर्लाही–३ किन रोजेँ भने यहाँका पीडा, संघर्ष र सम्भावनालाई राष्ट्रिय नीतिसँग जोड्न चाहन्छु,” उनले भने।

उनले मधेश अझै पनि विकास, रोजगारी र राज्यका सेवामा पछाडि परेको भन्दै संसदमा आफ्नो प्राथमिकता यही क्षेत्रको संरचनागत समस्या समाधान गर्नु हुने बताए। विशेषगरी सिँचाइ, कृषि आधुनिकीकरण, उद्योग–रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सडक–पूर्वाधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे।

श्रेष्ठले आफू गृहमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध चालेका कदमहरू, मिटरब्याजी पीडितका लागि गठन गरिएको आयोग र कानुनी कारबाही प्रक्रिया उदाहरणका रूपमा प्रस्तुत गर्दै अब संसदबाटै सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कानुन बनाउन भूमिका खेल्ने बताए।

उनले सर्लाही–३ का मतदातालाई सम्बोधन गर्दै भने, “यो चुनाव केवल सांसद छान्ने होइन, मधेशको भविष्य, संविधानको रक्षा र देशलाई असफल राज्य हुनबाट जोगाउने निर्णायक लडाइँ हो। त्यसैले तपाईंहरूको समर्थनले संसदमा भ्रष्टाचारविरुद्ध र जनताको पक्षमा आवाज अझ सशक्त बनाउनेछ।”

कार्यक्रममा स्थानीय अगुवा, किसान प्रतिनिधि, युवा समूह, महिला नेतृत्व तथा पार्टीका जिल्ला नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सर्लाही–३ मा रोजगारी, सिँचाइ र मिटरब्याज समस्याको स्थायी समाधान प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

श्रेष्ठले ती सबै मागलाई आफ्नो चुनावी एजेन्डामा समेटेर आगामी दिनमा निरन्तर जनतासँगै रहने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
12 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP