काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनकाली धर्मशाला परिसरमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनामा कारबाही गरिएको छ ।
पशुपति विकास कोषको अनुरोधमा महानगर प्रहरी बलले सञ्चालन गरेको अभियानअन्तर्गत बनकाली क्षेत्रमा अवस्थित ४ वटा अव्यवस्थित घरटहरा र तिलगंगा क्षेत्रमा रहेको १ वटा कवाडी संरचना भत्काइएको हो ।
महानगर प्रहरी बलले सञ्चालन गरेको उक्त कारबाहीमा अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक तथा धार्मिक सम्पदाको क्षेत्र ओगटेका संरचनालाई डोजर प्रयोग गरी हटाइएको हो । अभियानका क्रममा कुनै अप्रिय घटना नभएको र अवस्था सामान्य रहेको महानगरले जनाएको छ ।
उक्त कारबाहीका क्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति विकास कोषका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सबै पक्षको समन्वयमा अनधिकृत संरचना हटाउने कार्य गरिएको जनाइएको छ ।
धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने विश्वसम्पदा क्षेत्रभित्र अनियन्त्रित रूपमा फैलिँदै गएको अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको महानगरले स्पष्ट पारेको छ ।
महानगरपालिकाले सार्वजनिक सम्पदा, मठ–मन्दिर तथा धार्मिक क्षेत्रहरूमा हुने अतिक्रमणलाई शून्य सहनशीलताको नीति अन्तर्गत निरन्तर निगरानी र कारबाही गर्दै जाने जनाएको छ ।
यसअघि पनि पशुपति क्षेत्र आसपासका विभिन्न स्थानमा अवैध संरचना हटाउने कार्य हुँदै आएको छ । पछिल्लो कारबाहीलाई सोही अभियानको निरन्तरता रूपमा लिइएको छ ।
उक्त क्षेत्रसँग सम्बन्धित पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत प्रमुख धार्मिक स्थल हो, जहाँ संरक्षण र व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!