काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व विवाद चर्किएसँगै अध्यक्ष भुवन सिंह गुरुङ निलम्बनमा परेका छन्। संघभित्र देखिएको आन्तरिक शक्ति संघर्ष, हस्ताक्षर दुरुपयोगको गम्भीर आरोप र पदाधिकारीबीचको असहमतिको कारण संघको नेतृत्व संरचना नै हल्लिएको छ।
संघको प्रथम उपाध्यक्ष सुजित श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। नेतृत्व परिवर्तनसँगै बसेको पदाधिकारी बैठकले अध्यक्ष भुवन सिंह गुरुङलाई औपचारिक स्पष्टीकरण पत्र पठाइसकेको छ। पदाधिकारीहरूले उनलाई लगाइएका आरोपबारे स्पष्टिकरण माग गर्दै संस्थागत प्रक्रिया अघि बढाइएको बताएका छन्।
विवादको मुख्य जड अध्यक्ष गुरुङले संघका सल्लाहकार नवराज केसी र धनलाल जैसीलाई पदाधिकारीहरूको कथित हस्ताक्षर प्रयोग गरी पदमुक्त गरिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गर्नु रहेको बताइएको छ। उक्त पत्र कुनै औपचारिक बैठक वा निर्णय बिना, कृते हस्ताक्षर प्रयोग गरेर जारी गरिएको आरोप पदाधिकारीहरूले लगाएका छन्। सोही घटनाले संघभित्र गम्भीर असन्तुष्टि र अविश्वासको वातावरण सिर्जना गरेको हो।
पदाधिकारीहरूको आकस्मिक बैठकले उक्त विषयलाई गम्भीर अनुशासनात्मक विषयका रूपमा लिँदै विस्तृत छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ। बैठकले विवादित निर्णयमार्फत हटाइएका सल्लाहकार नवराज केसी र धनलाल जैसीलाई तत्काल पूर्ववत् पदमा पुनः बहाल गर्ने निर्णय पनि गरेको छ। सो निर्णयपछि सम्बन्धित सबै पक्षलाई औपचारिक पत्राचार गरिएको संघ स्रोतले जनाएको छ।
संघका केही सदस्यहरूले अध्यक्ष गुरुङमाथि कृते हस्ताक्षर प्रयोग गरी संस्थागत निर्णयलाई प्रभावित गरेको आरोप लगाउँदै लिखित निवेदन दर्ता गरेका थिए। सोही निवेदनपछि संघभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेको थियो।
सदस्यहरूको आरोप अनुसार संघलाई व्यवसायीहरूको सामूहिक हित विपरीत एकल ढंगले सञ्चालन गर्ने प्रयास भएको र संस्थागत निर्णय प्रक्रियालाई कमजोर बनाइएको दाबी गरिएको छ। उनीहरूले संघको पारदर्शिता र आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका छन्। यद्यपि, अध्यक्ष पक्षबाट हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
नयाँ कार्यबाहक अध्यक्ष सुजित श्रेष्ठले संघलाई विधिसम्मत, पारदर्शी र सामूहिक निर्णय प्रक्रियाबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले संघको मुख्य उद्देश्य वैदेशिक रोजगार व्यवसायीहरूको हकहित संरक्षण गर्नु भएकाले कुनै पनि निर्णय व्यक्तिगत नभई संस्थागत हुने स्पष्ट पारेका छन्।
हालको घटनाक्रमपछि संघभित्रको विवादले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी समुदायमा गम्भीर चासो बढाएको छ। नेतृत्व विवाद दीर्घकालीन रूपमा समाधान नभए यसले व्यवसायी क्षेत्रको नीति, समन्वय र कार्यसम्पादनमा समेत असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
संघले अध्यक्ष गुरुङलाई पठाइएको स्पष्टीकरण पत्रको जवाफ प्राप्त भएपछि आगामी कदमबारे निर्णय गर्ने जनाएको छ। यस घटनाले वैदेशिक रोजगार व्यवसायी संघको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ, जसले संघलाई नयाँ मोडमा पुर्याएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!