वैदेशिक रोजगार क्षेत्र सुधार्ने १० बुँदे एजेन्डासहित मेघनाथ भुर्तेल अध्यक्ष पदको प्रतिस्पर्धामा

वैदेशिक रोजगार क्षेत्र सुधार्ने १० बुँदे एजेन्डासहित मेघनाथ भुर्तेल अध्यक्ष पदको प्रतिस्पर्धामा

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदका उम्मेदवार तथा पूर्व महासचिव मेघनाथ भुर्तेलले वैदेशिक रोजगार क्षेत्रलाई सुधार र पारदर्शिताको दिशामा लैजाने भन्दै १० बुँदे विस्तृत एजेन्डासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्।

भुर्तेलले “सुरक्षित वैदेशिक रोजगार, सिपसहितको श्रमिक, सम्मानजनक स्वास्थ्य व्यवसाय, समृद्ध राष्ट्र” भन्ने मूल नारासहित वैदेशिक रोजगार प्रणालीलाई श्रमिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन संरचनागत सुधार अपरिहार्य रहेको बताएका छन्।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नीतिगत सुधारदेखि डिजिटल प्रणाली, सिप विकास, श्रमिक सुरक्षा र अवैध भर्ती नियन्त्रणसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ।

उनका अनुसार वैदेशिक रोजगार ऐन, नियमावली तथा निर्देशिकाको समयानुकूल समायोजन गर्दै श्रमिकमैत्री नीति निर्माण गरिनेछ। साथै, गैरकानुनी भर्ती र मध्यस्थ शोषण नियन्त्रणका लागि कडा नियमन प्रणाली लागू गरिने उनले बताएका छन्।

त्यसैगरी, सम्पूर्ण वैदेशिक रोजगार प्रणालीलाई डिजिटल बनाउँदै श्रम अनुमति, भिसा तथा सेवा प्रवाह अनलाइनमार्फत उपलब्ध गराउने र प्रक्रियामा पारदर्शिता तथा ट्रयाकिङ प्रणाली सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्।

भुर्तेलले स्वास्थ्य, निर्माण, कृषि, पर्यटनलगायतका क्षेत्रमा सिपयुक्त तालिम विस्तार गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक तथा सिप परीक्षण प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

श्रमिक सुरक्षा अन्तर्गत विदेशमा कार्यरत नेपाली श्रमिकको बीमा, स्वास्थ्य सेवा, कानुनी सहायता तथा संकटमा परेका श्रमिकको उद्धारलाई प्रभावकारी बनाइने उल्लेख छ। साथै, फर्किएका श्रमिकका लागि पुनर्स्थापना, उद्यमशीलता र स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ।
नयाँ श्रम बजार विस्तारका लागि युरोप, जापान, कोरिया र जर्मनीलगायत उच्च आय भएका मुलुकसँग कूटनीतिक पहल गरी श्रम गन्तव्य विस्तार गर्ने योजना पनि समेटिएको छ।

अवैध एजेन्ट, ठगी तथा गैरकानुनी भर्ती गतिविधिविरुद्ध कडा कारबाही गर्ने र वैध व्यवसायीलाई संरक्षण तथा प्रोत्साहन गर्ने व्यवस्था गरिने भुर्तेलले स्पष्ट पारेका छन्।
उनले सरकार, व्यवसायी र श्रमिकबीच नियमित संवाद र सहकार्यका लागि साझा संयन्त्र गठनको आवश्यकता औंल्याउँदै वैदेशिक रोजगार व्यवस्थालाई दीगो र व्यवस्थित बनाउनुपर्ने बताए।

साथै, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई उपयोग गर्दै स्वरोजगार तथा उद्यमशीलता विकास कार्यक्रममार्फत राष्ट्रिय उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य उनले प्रस्तुत गरेका छन्।

भुर्तेलले सरकारलाई वैदेशिक रोजगार नीति समायोजन, श्रमिकमैत्री कानुन निर्माण, प्रक्रियागत सरलीकरण र राजनीतिक हस्तक्षेप अन्त्य गर्न आग्रह गरेका छन्।
उनले व्यवसायी तथा श्रमिकलाई आचारसंहिता पालना, पारदर्शिता र सहकार्यमा जोड दिँदै वैदेशिक रोजगार क्षेत्रलाई सम्मानजनक, सुरक्षित र न्यायोचित बनाउने सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

अध्यक्ष पदका उम्मेदवार भुर्तेलले आफ्नो नेतृत्वमा वैदेशिक रोजगार क्षेत्रमा सुधार, सिप विकास र श्रमिक सम्मानलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP