काठमाडौँ महानगरको छात्रवृत्ति सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी भर्नाका लागि सिफारिस

काठमाडौँ महानगरको छात्रवृत्ति सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी भर्नाका लागि सिफारिस

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो मनोनयन (म्याचिङ) सूची सार्वजनिक गरेको छ।

महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यता क्रम, विद्यार्थीले छनोट गरेको विषय तथा शिक्षण संस्थाको प्राथमिकताका आधारमा ३ हजार ७३५ जना विद्यार्थीलाई भर्नाका लागि सिफारिस गरिएको हो।

महानगरपालिकाका अनुसार मनोनयनमा परेका विद्यार्थीहरूले छात्रवृत्ति पोर्टलबाट आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्न सक्नेछन्। परीक्षा समितिका संयोजक नमराज ढकालले मनोनयन भएका विद्यार्थीले जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्ने जानकारी दिएका छन्। निर्धारित समयभित्र भर्ना नभए छात्रवृत्तिको दाबी स्वतः रद्द हुने तथा मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रकाशित सूचीअनुसार सबैभन्दा बढी विद्यार्थी विज्ञान र व्यवस्थापन संकायमा सिफारिस भएका छन्। विज्ञानतर्फ २ हजार २६६ जना, व्यवस्थापनतर्फ १ हजार ४०१ जना, कानुनमा ५० जना, मानविकीमा १२ जना र शिक्षातर्फ ६ जना विद्यार्थी छनोट भएका छन्।

आरक्षण तथा समूहगत कोटाअन्तर्गत सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण १ हजार ५४५ जना र संस्थागत विद्यालयबाट उत्तीर्ण ४८१ जना विद्यार्थी सिफारिसमा परेका छन्। यस्तै, महानगरका रैथाने स्थायी बासिन्दा ४९२ जना, छात्रा कोटाबाट ४४० जना, खस आर्य १९७ जना, आदिवासी जनजाति १७३ जना, मधेसी १४९ जना तथा दलित कोटाबाट ९६ जना विद्यार्थी छनोट भएका छन्।

त्यसैगरी पिछडिएको क्षेत्रबाट ४६ जना, थारु समुदायबाट ३९ जना, ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, मुस्लिम समुदायबाट २२ जना, सहिद, बेपत्ता, जनआन्दोलन तथा द्वन्द्वपीडित परिवारबाट १४ जना र अपाङ्गता भएका व्यक्ति वा परिवारबाट १३ जना विद्यार्थी छात्रवृत्तिका लागि सिफारिस भएका छन्।

शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस वर्ष महानगरभित्रका १४५ वटा शिक्षण संस्थामा कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ। जसमध्ये विज्ञानमा २ हजार ३७१, व्यवस्थापनमा १ हजार ५४९, कानुनमा ७५, मानविकीमा ४९ र शिक्षामा ७ वटा कोटा छुट्याइएको छ।

महानगरपालिकाले विद्यार्थी भर्ना संख्या र कानुनी व्यवस्थाका आधारमा छात्रवृत्ति कोटा निर्धारण गरिएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी दलहरूको बैठक आज सिंहदरबारमा, सदनको गतिरोधबारे छलफल हुने
2 दिन अगाडि

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...

छुटाउनुभयो कि ?

TOP