सुन पसल चोरी प्रकरणमा सञ्चालक नै पक्राउ, बिमा दाबी गर्न ‘चोरीको नाटक’ गरेको खुलासा

सुन पसल चोरी प्रकरणमा सञ्चालक नै पक्राउ, बिमा दाबी गर्न ‘चोरीको नाटक’ गरेको खुलासा

बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा गत जेठ १७ गते राति भएको चोरी प्रकरणमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको खुलेको छ। रूपन्देही प्रहरीले घटनाको अनुसन्धानपछि पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकलाई पक्राउ गरेको छ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार एक साताभन्दा बढी समयको अनुसन्धानबाट चोरी योजनाबद्ध रूपमा गराइएको पुष्टि भएको हो। प्रहरीका अनुसार चोरी भएको भनिएको मध्य ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद गरिएको छ।

घटनापछि सञ्चालक सेन्चुरीले करिब ७० तोला सुनका गरगहना तथा काँचो सुन चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनले चोरीका कारण एक करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको सुनचाँदी हराएको दाबी गरेका थिए।

अनुसन्धानका क्रममा चोरी भएको रात पसलको च्यानल गेटको ताला खोलेर सटर करिब एक फिट माथि उठाइएको, सुन राखिएको लकरको ताला विभिन्न चाबी प्रयोग गरी खोलिएको तथा सुनचाँदी निकालिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरी भएको समयमा आफू पोखरामा रहेको दाबी गरेका सेन्चुरी वास्तवमा बुटवलमै रहेको तथ्य फेला परेको छ। साथै, पसलको सीसीटिभी क्यामेरा बिग्रिएको अवस्थामै घटना भएको र चोरी भएको दुई दिनपछि मात्र प्रहरीलाई जानकारी गराइएकाले सुरुदेखि नै घटना शंकास्पद देखिएको थियो।

अनुसन्धानबाट बिमा रकम दाबी गर्न तथा अन्य व्यक्तिले पसलमा राख्न दिएको सुन र नगद फिर्ता गर्न नपर्ने उद्देश्यले सञ्चालकले कर्मचारीसँग मिलेर चोरीको नाटक रचेको खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार दुवै जनाविरुद्ध आपराधिक विश्वासघात मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

करिब ४० वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा एक आफन्त र एक कामदार गरी दुई जना कर्मचारी कार्यरत थिए। प्रहरीले सीसीटिभी फुटेज तथा अन्य प्राविधिक प्रमाणका आधारमा सञ्चालक र कर्मचारीको संलग्नता पुष्टि गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
11 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP