सेफ सन्तोष साहविरुद्ध ठगी अनुसन्धान, अदालतबाट ३ दिनको म्याद

सेफ सन्तोष साहविरुद्ध ठगी अनुसन्धान, अदालतबाट ३ दिनको म्याद

काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साहमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद प्राप्त भएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। दुई वटा मुद्दामध्ये ठगीसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउन प्रहरीले अदालतबाट म्याद लिएको जनाएको छ।

प्रहरीका अनुसार साहविरुद्ध ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको थियो।

सिरहाको कर्जन्हा नगरपालिका-९ घर भई हाल काठमाडौंमा बस्दै आएका ४० वर्षीय सन्तोष साह ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट चेनका सञ्चालक हुन्। उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा पनि फैसला भइसकेको छ।

प्रहरीका अनुसार आर्जव होल्डिङ प्रालिलाई दिएको २५ लाख रुपैयाँको चेक नसाटिएपछि बैंकिङ कसुरमा बिगो भराउने तथा एक महिना कैद सजाय हुने फैसला भएको थियो। नक्सालस्थित शिला रेस्टुरेन्ट खरिद गर्ने क्रममा साहले दिएको चेक बाउन्स भएको बताइएको छ।

सन्तोष साह सन् २०२० मा बेलायतको चर्चित पाककला प्रतियोगिता BBC MasterChef: The Professionals मा ‘सेकेन्ड रनरअप’ बनेपछि चर्चामा आएका थिए। त्यसपछि उनी नेपाल फर्किएर ‘मिथिला थाली’ ब्रान्डअन्तर्गत काठमाडौं, ललितपुर र जनकपुरमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

हाल प्रहरीले उनीमाथि दर्ता भएका मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
11 घण्टा अगाडि

काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ...

छुटाउनुभयो कि ?

TOP