श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक बुधबार १५ मिनेटका लागि स्थगित भएको छ ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङसहित सो पार्टीका सांसदहरूले संसद्को वेल घेराउ गरेका हुन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै साम्पाङले प्रतिप्रश्न गरेका थिए। प्रतिप्रश्नको जवाफपछि पनि थप प्रश्न गर्न पाउनुपर्ने माग राख्दै उनले विरोध जनाएका थिए ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय नियमावलीअनुसार प्रतिप्रश्नमाथि पुनः प्रतिप्रश्न गर्न नमिल्ने स्पष्ट पारेका थिए। तर साम्पाङले आफ्नो अडान नछोडेपछि संसद्को कार्यवाही प्रभावित बनेको थियो ।
यसक्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरी नाराबाजीसमेत गरेका थिए। सभामुख अर्यालले पटक–पटक आफ्नो स्थानमा फर्किन र सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जारी राखेका थिए ।
विरोधकै बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिएका थिए। तर स्थिति सामान्य हुन नसकेपछि सभामुख अर्यालले संसद्को विधि, प्रक्रिया र नियमावलीको सम्मान गर्न चेतावनी दिँदै प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।
श्रम संस्कृति पार्टीले मन्त्रीहरूको जवाफ अपूर्ण र असन्तोषजनक रहेको भन्दै थप प्रश्न गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।
काठमाडौं । अर्बौँ रुपैयाँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!