भोटेकोशी बाढी : टनेलभित्र खोजी तीव्र, सेनाद्वारा थप २३ जनाको हवाई उद्धार

भोटेकोशी बाढी : टनेलभित्र खोजी तीव्र, सेनाद्वारा थप २३ जनाको हवाई उद्धार

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रलाई प्रभावित बनाएको भोटेकोशी बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। सेनाका अनुसार भदौ १६ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र संयुक्त नेपाली तथा विदेशी उद्धार टोलीले खोजी अभियान जारी राखेका छन्। चिलिमे हाइड्रोको टनेलमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर तथा अपर त्रिशूली–१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिएको नेपाली सेनाले जनाएको छ।

त्रिशूली–3A आयोजनामा टनेलको प्रवेश भाग फेला परेपछि कम्प्रेसरमार्फत हावा प्रवाह गर्ने, पानी निकाल्ने तथा वैकल्पिक मार्ग खोल्ने काम भइरहेको छ। त्यस्तै त्रिशूली–3B आयोजनामा पनि विज्ञसहितको टोलीले टनेल प्रवेशद्वार पत्ता लगाई उत्खनन कार्य गरिरहेको छ।
नेपाली सेनाका अनुसार बाढीपछिको प्रारम्भिक उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो।

यसैबीच रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने तथा आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न धुन्चे, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल तथा शव सङ्कलन एवं व्यवस्थापन गरिएका स्थानहरूमा निसंक्रमण (डिसइन्फेक्ट) कार्यसमेत सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP