काठमाडौं। चौतर्फी आलोचना र बढ्दो असन्तुष्टिका बीच वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्य विभागबाट हटाइएकी छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई मन्त्रालयमा तानेर सहसचिव नवराज ढकाललाई विभागको नयाँ महानिर्देशक नियुक्त गरेको हो। ढकालले बुधबार नै पदबहाली गर्दै जिम्मेवारी सम्हालेका छन्।
आचार्यको कार्यकालभर वैदेशिक रोजगार व्यवसायी र सेवाग्राहीबाट विभागको कार्यशैलीमाथि तीव्र असन्तुष्टि व्यक्त हुँदै आएको थियो। व्यवसायीहरूले कानुन कार्यान्वयनको नाममा अनावश्यक कडाइ, अत्यधिक जरिवाना र म्यानपावर व्यवसाय सञ्चालनमा अवरोध सिर्जना गरिएको आरोप लगाउँदै आएका थिए।
व्यवसायीहरूले विभागको नेतृत्व परिवर्तनको माग गर्दै मन्त्रालय र उच्च सरकारी निकायमा पटक–पटक गुनासोसमेत दर्ता गरेका थिए। विभागले निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न नसकेको र वैदेशिक रोजगार क्षेत्रलाई थप जटिल बनाएको आरोप उनीहरूको थियो।
यही पृष्ठभूमिमा मन्त्रालयले नेतृत्व परिवर्तनको निर्णय गरेको हो। आचार्यलाई मन्त्रालयमा कुन जिम्मेवारी दिइने भन्नेबारे भने हालसम्म खुलाइएको छैन।
नवनियुक्त महानिर्देशक ढकालसामु अब वैदेशिक रोजगार क्षेत्रप्रति बढेको अविश्वास हटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा व्यवसायी र नियामक निकायबीचको सम्बन्ध सुधार्ने चुनौती रहेको छ।
देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहेको अवस्थामा विभागको नेतृत्व फेरबदललाई अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ नेतृत्वबाट वैदेशिक रोजगार प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!