काठमाडौँ । इरानसँगको युद्ध र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। लामो समयसम्म ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने आशंकासँगै तेलको मूल्य बिहीबार प्रतिब्यारेल १०८ अमेरिकी डलरभन्दा माथि पुगेको हो।
लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा कारोबार हुने ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १०८ डलर नाघेको थियो। मे महिनायता पहिलोपटक ब्रेन्टको मूल्य यो स्तरमा पुगेको हो। कारोबार अन्त्य हुँदा ब्रेन्ट क्रुड ६.३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६३ सेन्ट पुगेको छ।
त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा कारोबार हुने अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि ६.७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर ४८ सेन्ट पुगेको छ। यो पनि मे महिनापछिको उच्च मूल्य हो।
२०२६ सुरु भएयता ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य करिब ७५ प्रतिशतले बढिसकेको बताइएको छ। बजार विश्लेषकहरूले खाडी क्षेत्रमा जारी तनाव तत्काल कम हुने संकेत नदेखिएकाले तेलको मूल्यमा थप दबाब पर्न सक्ने बताएका छन्। इरानसँगको गतिरोध लामो समयसम्म कायम रहे ब्रेन्ट क्रुड प्रतिब्यारेल १२० डलर वा त्योभन्दा माथि पुग्न सक्ने चेतावनीसमेत दिइएको छ। केही अनुमानले मूल्य १५० डलरसम्म पुग्न सक्ने सम्भावना औँल्याएका छन्।
ट्रम्पको अभिव्यक्तिले पनि बढायो बजारको चिन्ता
तेलको मूल्य बढ्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई पनि प्रमुख कारण मानिएको छ। ट्रम्पले बुधबार आफू इरानसँग सम्झौता खोजिरहेको अवस्थामा नरहेको बताएका थिए। उनले युद्ध तत्काल अन्त्य हुने अपेक्षा नरहेको संकेत गर्दै नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्रै तेलको मूल्य घट्ने बताएका छन्।
उनको अभिव्यक्तिपछि बजारमा युद्ध र ऊर्जा आपूर्तिसम्बन्धी अनिश्चितता थप बढेको विश्लेषण गरिएको छ।
युद्ध सुरु भएको प्रारम्भिक चरणमा मूल्य नियन्त्रण गर्न विभिन्न देशहरूले संयुक्त रूपमा करिब ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए। तर करिब ६ महिनापछि अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डार सन् १९८० को दशकयताकै न्यून स्तरमा पुगेको बताइएको छ।
इरानसँगको पुनः बढेको तनावका कारण साउदी अरबको कच्चा तेल उत्पादनसमेत अगस्टमा सन् १९९० यताकै न्यून स्तरमा झरेको ब्लुमबर्ग न्युजले जनाएको छ। यद्यपि, उक्त विवरण स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको जनाइएको छ।
पेट्रोल–डिजेल महँगिँदा अर्थतन्त्रमा थप दबाब
कच्चा तेलको मूल्य बढेसँगै अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन थप ५ सेन्ट बढेर ४ डलर २७ सेन्ट पुगेको छ। डिजेलको मूल्य पनि ४ सेन्ट बढेर प्रतिग्यालन ५ डलर ९८ सेन्ट पुगेको छ। डिजेल कृषि, ढुवानी तथा रेल यातायातमा ठूलो मात्रामा प्रयोग हुने भएकाले यसको मूल्यवृद्धिले उत्पादन तथा ढुवानी लागत बढाउने र त्यसको असर उपभोक्तासम्म पुग्ने चिन्ता बढेको छ।
यसैबीच, अमेरिकी अर्थतन्त्रमा थोक तहको मुद्रास्फीति पनि बढेको तथ्यांक सार्वजनिक भएको छ। जुनदेखि जुलाईसम्म उत्पादक मूल्य सूचकांक (पीपीआई) ०.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा पीपीआई वृद्धि ५.४ प्रतिशत पुगेको छ।
अमेरिकी उपभोक्ता मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक हुनुअघि नै पछिल्लो मूल्यवृद्धिलाई अर्थशास्त्रीहरूले चिन्ताजनक रूपमा हेरेका छन्।
विशेषगरी डिजेल र तताउने इन्धनको मूल्यवृद्धिको प्रभाव ढिलागरी अर्थतन्त्रका अन्य क्षेत्रमा समेत फैलिन सक्ने चेतावनी दिइएको छ। मुद्रास्फीतिको जोखिम बढेपछि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी ब्याजदर बैठकमा पछिल्लो आर्थिक तथ्यांकलाई नजिकबाट हेर्ने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!