भिडियो भाइरल भएपछि शिक्षामन्त्रीको स्पष्टीकरण : ‘एक मिनेटको क्लिपले वास्तविकता देखाउँदैन’

भिडियो भाइरल भएपछि शिक्षामन्त्रीको स्पष्टीकरण : ‘एक मिनेटको क्लिपले वास्तविकता देखाउँदैन’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्यक्रमको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनालाई फरक ढंगले प्रस्तुत गरिएको बताएका छन्। उनले सिरहा र सप्तरीमा आयोजित कार्यक्रममा १०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको र कार्यक्रमका क्रममा दुई जना व्यक्तिले अवरोध सिर्जना गरेपछि विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागितामा असर पर्ने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको स्पष्ट पारे।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति राख्ने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन्।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनको तयारी भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नयाँ अवधारणा लागू गर्ने तयारीका लागि देशभर सुझाव सङ्कलन अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

कार्यक्रममा अवरोध भए पनि शिक्षा सुधारको अभियान नरोकिने बताउँदै उनले सिरहास्थित बहिरा बालबालिकाको विद्यालय र मदरसामा पुगेर विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेको बताए। एकै दिन ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको उनको भनाइ छ।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा भइरहेका कामको मूल्याङ्कन जनताले गर्ने भन्दै आफूहरू राजनीतिक स्टन्टका लागि नभई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ मैदानमा खटिएको दाबी गरेका छन्।
सुझाव सङ्कलन अभियानअन्तर्गत मन्त्रीसहितको टोली आइतबार सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन सुरु, १० वर्षपछि मोदी, पुटिन र जिनपिङ एउटै मञ्चमा
9 घण्टा अगाडि

काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ। सम्मेलनमा भारत ...

छुटाउनुभयो कि ?

TOP