३५ सय सुरक्षाकर्मीको घेरामा तीज, पशुपतिमा सुरक्षा व्यवस्था कडा

३५ सय सुरक्षाकर्मीको घेरामा तीज, पशुपतिमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा श्री पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। लाखौं भक्तजनको भीड व्यवस्थापन तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य तथा तीज कार्यक्रमका सुरक्षा संयोजक राम नायकका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौं महानगर प्रहरी र कोषका सुरक्षाकर्मी गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिनेछ। नेपाल प्रहरीका २ हजार ५ सय वर्दीधारी र २ सय सादा पोसाकका सुरक्षाकर्मी खटिनेछन् भने सशस्त्र प्रहरीका ५ सय, नेपाली सेनाका १ सय, महानगर प्रहरीका १ सय तथा कोषका ६५ सुरक्षाकर्मी परिचालन गरिनेछ।

नायकका अनुसार मेला क्षेत्रमा चोरी, पाकेटमारी, हराउने घटना तथा अन्य अवाञ्छित गतिविधि रोक्न सादा पोसाकका निगरानी टोली परिचालन गरिएको छ। सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन अतिरिक्त सीसीटीभी क्यामेरा समेत जडान गरिएको उनले बताए।

तीजका दिन बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिनेछन्। भक्तजनको सहज दर्शनका लागि मित्रपार्क–उमाकुण्ड, गौशाला–जयवागेश्वरी, सिनामंगल–तिलगंगा–राममन्दिर र पिङ्गलास्थानबाट छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था मिलाइएको छ। पुरुष नित्य दर्शनार्थीले भने बिहान ५ः३० बजेसम्म दर्शन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

मन्दिर परिसरभित्र फोटो तथा भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ। नियम उल्लङ्घन गरेमा उपकरण जफत गर्नुका साथै जरिवाना समेत गरिने कोषले जनाएको छ।

भक्तजनको सुविधाका लागि विभिन्न स्थानमा पार्किङ, स्वास्थ्य शिविर तथा जुत्ता–चप्पल राख्ने व्यवस्था मिलाइएको छ। कोषले तीज मनाउन पशुपति आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र बालबालिकासँग अभिभावकको सम्पर्क नम्बर राख्न विशेष आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP