ट्रम्पको आदेशमा ग्रीन कार्ड लटरी कार्यक्रम तत्काल स्थगन

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘ग्रीन कार्ड लटरी’का रूपमा परिचित डाइभर्सिटी इमिग्रेन्ट भिसा (DV) कार्यक्रम तत्कालका लागि स्थगन गरिएको छ। ब्राउन युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा भएको घातक गोलीकाण्डमा संलग्न अभियुक्त यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि ट्रम्प प्रशासनले कडा कदम चालेको हो।

गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवा (USCIS) लाई डिभी कार्यक्रम ‘पज’ गर्न आदेश दिएको जानकारी दिएकी छन्। उनले अभियुक्तलाई संकेत गर्दै “यस्तो जघन्य अपराध गर्ने व्यक्ति कहिल्यै पनि हाम्रो देशमा प्रवेश गर्न नपर्ने थियो” भनेर टिप्पणी गरेकी छन्।

पोर्चुगलका नागरिक ४८ वर्षीय क्लाउडियो नेभेस भालेन्ते ब्राउन युनिभर्सिटीमा दुई विद्यार्थीको हत्या, नौ जनालाई गोली हानी घाइते बनाएको तथा MIT का एक प्राध्यापकको हत्या गरेको अभियोगमा संलग्न रहेको आशंका गरिएको छ। घटनापछि उनी बिहीबार साँझ आत्महत्या गरेको अवस्थामा फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

प्रोभिडेन्स प्रहरीका एक डिटेक्टिभले दायर गरेको शपथपत्रअनुसार, नेभेस भालेन्ते सन् २००० मा विद्यार्थी भिसामा ब्राउन युनिभर्सिटीमा अध्ययनका लागि अमेरिका आएका थिए। उनले सन् २००१ मा अध्ययनबाट अवकाश लिएका थिए। त्यसपछि सन् २०१७ मा डाइभर्सिटी इमिग्रेन्ट भिसा प्राप्त गरी केही महिनापछि कानुनी स्थायी आवास अनुमति (ग्रीन कार्ड) लिएको उल्लेख छ।

तर सन् २००१ देखि २०१७ सम्म उनी कहाँ थिए र कुन हैसियतमा बसोबास गरेका थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। यस घटनाले डिभी लटरी कार्यक्रमको पृष्ठभूमि जाँच, सुरक्षा मापदण्ड र आप्रवासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

ट्रम्प प्रशासनले सुरक्षा जोखिमको मूल्याङ्कन पूरा नभएसम्म डिभी कार्यक्रम पुनः सञ्चालन नहुने संकेत दिएको छ। यस निर्णयले सन् २०२५ र २०२६ का डिभी आवेदक तथा विजेताहरूको भविष्य अनिश्चित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP