काठमाडौं, माघ १९ — राष्ट्रिय राजनीतिका शीर्ष नेतादेखि प्रतिष्ठित व्यक्तित्वहरूको नाम र पहिचानलाई ढाल बनाएर अन्तर्राष्ट्रियस्तरमा फन्ड उठाउने योजनाबद्ध खेल खेल्ने एक अमेरिकी नागरिक अध्यागमन विभागको नियन्त्रणमा पुगेका छन्।
ललितपुरको सानेपामा ‘नेपाल इन्टरनेशनल कलेज (NIC)’ नाम दिएर बनाइएको वेबसाइट
https://nicollege.edu.np/ मार्फत उनले देशकै चर्चित अनुहारहरूलाई “Our Dynamic Teams” मा राखेर कलेजको वैधता र विश्वसनीयता देखाउने प्रयास गरेका थिए, तर यही प्रयास नै उनको लागि सबैभन्दा ठूलो प्रमाण बनेको छ।
वेबसाइटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सांसद आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, उद्योगपति विनोद चौधरी, कृष्णबहादुर लगायत १३ जना राष्ट्रियस्तरका व्यक्तित्वको नाम टिम सदस्यका रूपमा राखिएको भेटिएको छ, जबकि तीमध्ये कसैले पनि उक्त कलेजसँग कुनै औपचारिक सम्बन्ध स्वीकार गरेका छैनन्। यति मात्रै होइन, लाइब्रेरी, क्याम्पस सेवा तथा प्रशासनिक टिममा समेत अन्य प्रतिष्ठित नेपालीहरूको नाम राखेर संस्थालाई भव्य र प्रभावशाली देखाउने प्रयत्न गरिएको पाइएको छ।
झन् गम्भीर कुरा, कलेजले आफूलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैबाट सम्बन्धन प्राप्त भएको भन्दै प्रचार गरिरहेको थियो, तर अध्यागमनको सोधपुछमा कुनै आधिकारिक प्रमाण पेश गर्न सकेन। शिक्षा क्षेत्रका जानकारहरूका अनुसार एउटै कलेजले दुई फरक विश्वविद्यालयसँग एकैसाथ सम्बन्धन पाउनु सम्भव हुँदैन, जसले यो सम्पूर्ण संरचनालाई थप शंकास्पद बनाएको छ।
वेबसाइटमा कोरियन स्टडिज, एआई सफ्टवेयर इन्जिनियरिङ र बिजनेस स्टडिज जस्ता आकर्षक विषय पढाइने दाबी गरिएको थियो, तर प्रारम्भिक अनुसन्धानले यो शैक्षिक परियोजनाभन्दा पनि अन्तर्राष्ट्रिय दाताबाट पैसा तान्ने रणनीति रहेको देखाएको छ।
नियन्त्रणमा परेका अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आउजाउ गर्दै आएका व्यक्ति हुन्, जसले करिब १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेको अध्यागमनको अभिलेखले देखाउँछ। उनले कहिले पर्यटक, कहिले वर्किङ र कहिले व्यावसायिक भिसा प्रयोग गर्दै नेपाल बस्ने गरेका थिए। नेपालमा उनले COMSEED NEPAL PVT LTD नामको कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएको देखिएको छ।
थप अनुसन्धानले उनी नेपालमा चर्च प्लान्टिङ (नयाँ चर्च स्थापना) गतिविधिमा सक्रिय रहेको देखाएको छ। सन् २००८ मा न्यूयोर्कमा ‘Yes In Him Church’ स्थापना गरेका उनले ‘The Planter’ नामक संस्थामार्फत विभिन्न देशमा चर्च विस्तार गरेका छन्। उनी २०२१ मा Global Alliance of World Presbyterian Churches अन्तर्गत नेपालको नयाँ प्रेस्बिटेरियन परिषदको अध्यक्षसमेत रहेको पाइएको छ। ‘The Planter’ नामक कोरियन मिसनरी संस्थामार्फत नेपालमा कोरियन भाषा विद्यालय खोल्ने घोषणा पनि गरेका थिए।
सबैभन्दा विवादास्पद दाबी भनेको उनले सानेपामा खोलिएको संस्थालाई “नेपालको पहिलो MoU-guaranteed Christian College” भन्दै प्रचार गर्नु थियो, तर यस्तो कुनै सरकारी वा विश्वविद्यालयस्तरको सम्झौता प्रमाणित गर्न सकेनन्।
अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले यस प्रकरण गम्भीर रहेको भन्दै थप अनुसन्धान जारी रहेको बताएका छन्। उनका अनुसार राष्ट्रिय व्यक्तित्वहरूको नाम दुरुपयोग गरेर आर्थिक लाभ लिन खोजिएको प्रारम्भिक प्रमाण भेटिएको छ।
हाल ती अमेरिकी नागरिक अध्यागमनको नियन्त्रणमा छन् र नेपालमा उनका सम्पूर्ण गतिविधि, भिसा इतिहास तथा आर्थिक लेनदेनको विस्तृत छानबिन भइरहेको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया