जापानकी प्रधानमन्त्री ताकाइचि: ‘देश बलियो बनाउने ऐतिहासिक जिम्मेवारी’

टोकियो,माघ २६- जापानकी प्रधानमन्त्री सानाए ताकाइचिले ऐतिहासिक निर्वाचन जितपछि देशमा “तत्काल ठूलो सुधार” आवश्यक रहेको भन्दै रक्षा क्षमतालाई थप बलियो बनाउने प्रतिवद्धता दोहोर्‍याएकी छन्।

आइतबार भएको आकस्मिक निर्वाचनमा ताकाइचिको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले इतिहासमै पहिलोपटक तल्लो सदनमा दुई–तिहाइ बहुमत हासिल गरेको थियो। यो जितसँगै अक्टोबरमा पद सम्हालेकी जापानकी पहिलो महिला प्रधानमन्त्रीले आगामी चार वर्षसम्म आफ्नो नीतिगत छाप छोड्ने बाटो खुलेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “यो जापानलाई अझ बलियो र समृद्ध बनाउने भारी जिम्मेवारीको सुरुवात हो।”

उनले थपिन्, “ठूलो नीतिगत परिवर्तनको आवश्यकताबारे जनताले हाम्रो आह्वानलाई बुझेर समर्थन गरेको हामीले महसुस गरेका छौं।”

‘आइरन लेडी’ मार्गरेट थ्याचरकी प्रशंसक मानिने ताकाइचिले जापानको रक्षा संरचना सुदृढ पार्ने, नयाँ गुप्तचर निकाय गठन गर्ने र प्रमुख सुरक्षा नीतिहरू संशोधन गर्ने बताइन्।

उनले कडा शब्दमा भनिन्, “आफ्नै हातले आफूलाई रक्षा गर्ने सङ्कल्प नभएको राष्ट्रलाई कसैले सहयोग गर्दैन।”
“हामी हाम्रो शान्ति, सार्वभौमसत्ता, भूभाग, समुद्री क्षेत्र, आकाश र नागरिकको सुरक्षा दृढतापूर्वक रक्षा गर्नेछौं,” उनले थपिन्।

उनको यो अडान चीनसँग थप तनाव बढाउने संकेत मानिएको छ। विशेषगरी, उनले नोभेम्बरमा चीनले ताइवान कब्जा गर्न खोजे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने बताएका कारण बेइजिङ रुष्ट बनेको थियो।
सोमबार चीनको विदेश मन्त्रालयले पुनः जापानलाई ती टिप्पणी फिर्ता लिन आग्रह गर्दै “लापरबाहीपूर्ण कदमले अन्तर्राष्ट्रिय समुदायबाट कडा प्रतिक्रिया पाउने” चेतावनी दिएको छ।

यस विषयमा ताकाइचिले भने, “हामी चीनसँग संवादका लागि खुला छौं। विचार आदान–प्रदान भइरहेको छ र जारी रहनेछ, तर हामी शान्त र विवेकपूर्ण तरिकाले प्रस्तुत हुनेछौं।”

विश्लेषकहरूका अनुसार, एलडीपीको सुपर–बहुमतले ताकाइचिलाई रक्षा, अर्थतन्त्र र अध्यागमन नीतिमा कडा सुधार अघि बढाउने बलियो राजनीतिक आधार दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल टेलिकमले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि अनलाइन विवरण अद्यावधिक सेवा सुरु
8 घण्टा अघि

काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP