२० वर्षे फर्जी लाइसेन्स काण्ड: पोखरा यातायातका कर्मचारीविरुद्ध मुद्दा

२० वर्षे फर्जी लाइसेन्स काण्ड: पोखरा यातायातका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामै गम्भीर अनियमितता गर्दै फर्जी कागजात तयार पारिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौं तह) शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकालले सेवाग्राही हिम बहादुर बस्नेत थापासँग मिलेमतो गर्दै फर्जी लाइसेन्स तयार पारेको पुष्टि भएको हो।

अनुसन्धानबाट हिम बहादुर बस्नेत थापाको नाममा A र B वर्गको पुरानो लाइसेन्स नम्बर DL 08-42482 जारी नै नभएको अवस्थामा पनि सरकारी अभिलेखमा गैरकानुनी रूपमा विवरण हेरफेर गरिएको खुलेको छ। त्यसपछि नयाँ विवरण प्रविष्ट गरी लाइसेन्स नम्बर 01-07-01035280 जारी गरिएको थियो।

उक्त लाइसेन्सलाई वैध देखाउन २०५८ चैत २७ (सन् 2002 अप्रिल 9) को मिति राखी २०७८ चैत २२ (सन् 2022 अप्रिल 5) सम्म म्याद कायम गरिएको थियो। सोही आधारमा २०७८ चैत १५ मा लाइसेन्सको प्रतिलिपि समेत प्रदान गरिएको अख्तियारले जनाएको छ।

आयोगले सरकारी तथा सार्वजनिक अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरी गैरकानुनी लाभ लिएको ठहर गर्दै शंकर थापा र जगत ढकालमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अनुसार सजाय माग गरेको छ। साथै, लाभ लिने मतियारका रूपमा हिम बहादुर बस्नेत थापामाथि दफा २२ अनुसार मुख्य कसुरदार सरह सजाय मागदाबी गरिएको छ।

यो प्रकरणले सरकारी सेवा प्रणालीमै मिलेमतोमा फर्जी कागजात तयार हुने प्रवृत्ति उजागर गरेको भन्दै यातायात व्यवस्थापन प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP