काठमाडौँ,माघ २१- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबारदेखि देशभर औपचारिक रूपमा ‘फिल्ड’मा तैनाथ हुन थालेको छ । २१ फागुनमा हुने निर्वाचनका लागि ठीक एक महिनाअघि नै सेना परिचालन सुरु गरिएको हो । निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक नभएसम्म सेना निरन्तर फिल्डमै रहनेछ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ अनुसार मतदानको एक महिनाअघिबाटै सेना परिचालन गरिएको जानकारी दिए । उनका अनुसार देशभरका संवेदनशील संरचना, कारागार तथा मतदानस्थलको सुरक्षा व्यवस्थापनमा सेना मुख्य भूमिकामा रहनेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएका थिए । त्यसपछि केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ तर्जुमा गरेको थियो । सोही कार्ययोजनाअनुसार अहिले चरणबद्ध रूपमा सेना फिल्डमा खटिन थालेको हो ।
कार्ययोजनाअनुसार केन्द्रीय कारागार र नख्खु कारागारसहित देशभरका ७५ वटै कारागार तथा बन्दी/बाल सुधार गृहको अस्थायी सुरक्षा जिम्मेवारी निर्वाचन अवधिभर नेपाली सेनाले सम्हाल्नेछ । कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षार्थ फिल्डमा परिचालन गरिने भएकाले मतदान सम्पन्न भई मतपरिणाम नआउँदासम्म कारागारको सुरक्षा सेना मातहत रहनेछ । हाल सम्बन्धित सुरक्षा निकायबीच बुझबुझारथको प्रक्रिया जारी रहेको सेनाले जनाएको छ ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका प्रमुख विमानस्थल, महत्त्वपूर्ण सरकारी भवन, कार्यालय, जलविद्युत् गृह तथा अन्य संवेदनशील भौतिक संरचनाको सुरक्षामा पनि सेना तैनाथ गरिएको छ । ती स्थानमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटहरू निर्वाचन सुरक्षामा खटाइने भएकाले सेना अस्थायी रूपमा जिम्मा लिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षा कार्ययोजनामा ७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र र ७५३ पालिकालाई केन्द्रमा राखेर सेना परिचालन गर्ने व्यवस्था गरिएको छ । स्थायी सैन्य संरचना भएका स्थानमा त्यहींबाट र नभएका स्थानमा अस्थायी बेस क्याम्प बनाएर सुरक्षा व्यवस्थापन गरिएको छ ।
स्थलगत सुरक्षाका साथै हवाई गस्तीलाई समेत सक्रिय बनाइएको छ । पूर्वको इटहरी, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा हवाई बेस बनाएर गस्ती सुरु गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ । आवश्यकता अनुसार निजी वायुसेवा कम्पनीका हेलिकोप्टरसमेत परिचालन गरिनेछ । हाल ११ कम्पनीका ३४ हेलिकोप्टर उडानयोग्य अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षामा जोखिमको वर्गीकरणअनुसार सुरक्षाकर्मीलाई लामो, मध्यम र छोटो दूरीको पैदल गस्ती, सवारी गस्ती तथा सादा पोसाकमा परिचालन गरिनेछ । २१ फागुनका लागि तोकिएका ११ हजार ९ सय १ मतदान स्थलमध्ये करिब एकतिहाइलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा नेपाली सेनाबाट करिब ८० हजार, नेपाल प्रहरीबाट करिब ७१ हजार, सशस्त्र प्रहरीबाट करिब ३५ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार जनशक्ति परिचालन हुँदैछ । थप रूपमा ४० दिन कार्यअवधिका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गरिएको छ । उनीहरूमध्ये १ लाख ३३ हजार ९ सय ८० जना नेपाल प्रहरी र १५ हजार १ सय १० जना सशस्त्र प्रहरीमार्फत अर्को सातादेखि फिल्डमा खटाइनेछन् ।
निर्वाचन सुरक्षा कार्ययोजनाको अनुगमन तथा समन्वयका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सहसचिव तहका ‘फोकल पर्सन’ तोकेको छ । उनीहरूले फिल्डको अवस्था अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिनेछन् ।
यसैबीच, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।
निर्वाचन सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति, गृह सचिव नेतृत्वको केन्द्रीय निर्वाचन कमान्ड पोस्ट, चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित सहजीकरण समिति, सातवटै प्रदेशमा प्रादेशिक सुरक्षा कमान्ड पोस्ट र जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिबाट तहगत समन्वय गरिनेछ ।
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ११० सिटका लागि ३ हजार १ सय ३७ र प्रत्यक्षतर्फ १६५ सिटका लागि ३ हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया