कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ

काठमाडौँ, माघ १५ - उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक संस्कारमा काम, परिणाम र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले भाषण र बहानाभन्दा काम र परिणामलाई प्राथमिकता दिने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “हामी भाषणमा होइन, काममा विश्वास गर्छौँ। हामी बहानामा होइन, परिणाममा विश्वास गर्छौँ।”

उनले तराई–मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा निर्माण गरिएको अस्थायी डाइभर्सनको विषय उठाएका हुन्। मंसिर ५ गते स्थलगत निरीक्षणका क्रममा १४ वर्षसम्म कमला पुल निर्माण नहुँदा नागरिकले भोग्दै आएको सास्ती, जोखिमपूर्ण यात्रा र सवारीसाधनलाई लामो रुट प्रयोग गर्नुपर्ने बाध्यता देखिएको उनले बताएका छन्।

घिसिङका अनुसार त्यसपछि ह्युम पाइप प्रयोग गरी अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो। “निर्देशन मात्र होइन, कार्यान्वयन नै गरियो,” उनले उल्लेख गरेका छन्।

अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूले ठूलो राहत पाएको जानकारी पाउँदा आफू खुशी भएको उनले बताए। १४ वर्षदेखि अलपत्र परेको ४६९ मिटर लामो कमला पुलसमेत अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको घिसिङको भनाइ छ।

उनले पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्न र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको स्मरण गराउँदै भनेका छन्, “रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना होइन, यथार्थ बन्दैछ। यही हो नयाँ राजनीतिक संस्कार—काम, परिणाम र जवाफदेहिता।”

[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP