रौतहट । सोमबार आएको शक्तिशाली हावाहुरीले रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित गैँडाटार क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित यस गाउँमा हजारौँ केरा बोट ढलेपछि किसानहरू गम्भीर संकटमा परेका छन् ।
स्थानीय कृषक दीपक गौतमका अनुसार एकैछिनमा वर्षभरिको मेहनत नष्ट भएको छ । “लगानी, श्रम र समय सबै खेर गयो, अब कसरी उठ्ने भन्ने चिन्ता छ,” उनले भने । उनले करिब ७ बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका थिए।
रौतहट जिल्लाभर करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेती हुँदै आएको छ । यस पटकको हावाहुरीबाट मात्रै करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
किसानहरूका अनुसार केरा खेतीमा हरेक वर्ष प्राकृतिक विपत्ति दोहोरिने समस्या छ । हावाहुरी, विभिन्न रोग र जङ्गली जनावरको आक्रमणका कारण बाली नष्ट हुने गरेको छ । तर बाली बिमा नहुँदा सम्पूर्ण क्षति किसान आफैंले बेहोर्नु परेको छ ।
स्थानीय कृषकहरूले पटकपटक केरा खेतीको बिमा व्यवस्था गर्न चन्द्रपुर नगरपालिकासमक्ष माग राखे पनि हालसम्म प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् । कृषक गौतमका अनुसार नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीसँग आग्रह गर्दा पनि बेवास्ता गरिएको छ ।
अर्का कृषक रमेश घिमिरेले बाली बिमा अनिवार्य भइसकेको बताउँदै भने, “यदि बिमा भएको भए यति ठूलो नोक्सानीबाट केही राहत मिल्थ्यो । अहिले सबै जोखिम किसानकै काँधमा छ ।” बिमा कम्पनीहरूले जोखिम बढी देखाउँदै केरा खेतीको बिमा गर्न आनाकानी गर्ने गरेको उनको भनाइ छ ।
यता चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले भने बाली बिमा प्रवर्द्धनका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए। “किसानको हितका लागि बिमा अत्यावश्यक छ, हामी यसमा सहकार्य गर्न तयार छौँ,” उनले भने।
लगातार दोहोरिने प्राकृतिक विपत्ति र बिमा अभावका कारण यस क्षेत्रका केरा किसानहरू आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् । कृषकहरूले तत्काल बिमा व्यवस्था र राहत प्याकेजको माग गरेका छन् ।
सुनसरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट क्षेत्रबाट गैंडाको खाग जस्तो ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!