चर्चामा
बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति खारेजीको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानसहित दुईजना पक्राउ परेका छन्।
प्रहरीले सोमबार मध्यराति लुम्बिनीको पर्साचोकस्थित घरबाट सुतिरहेको अवस्थामा ६१ वर्षीय खान र लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिएका छन्।
शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना संयोजकसहितका व्यक्तिलाई मध्यरातमा पक्राउ गरिएको भन्दै महाअभियानले दुवैजनालाई निःशर्त रिहा गर्न माग गरेको छ। यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा 'उच्छृङ्खल गतिविधि' गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।
महाअभियानले आनी छोइङको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई कोषको उपाध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ। आन्दोलनकै क्रममा सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्री गनेश पौडेलको पुत्लासमेत दहन गरिएको थियो।
कोषको उपाध्यक्ष पदमा आवेदन नै नदिएकी आनीलाई नियुक्त गरिएको भन्दै महाअभियानसहित कपिलवस्तुको तिलौराकोट संघर्ष समिति, लुम्बिनी क्षेत्रका प्रदेश सांसद, पूर्वमन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राष्ट्रिय जेनजी नागरिक अभियानलगायतले विरोध जनाउँदै आएका छन्।
विरोधकर्ताहरूले आनीको वंशजको नागरिकता प्राप्ति तथा हङकङबाट प्राप्त गरेको भनिएको करोडौँ रकमको वैधता र पारदर्शितामाथि पनि प्रश्न उठाएका छन्। उनीहरूले यी विषयमा निष्पक्ष छानबिन गरी निर्दोष प्रमाणित भएपछि मात्रै नियुक्ति स्वीकार गर्न सकिने बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!