चर्चामा
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले अपेक्षित गति लिन नसक्दा निर्धारित समयमै निर्माण सम्पन्न हुनेमा आशंका बढेको छ। निर्माण अवधि सकिन करिब साढे दुई महिना मात्रै बाँकी रहँदा रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशतमा सीमित छ।
भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण भइरहेको रङ्गशालाको निर्माण आगामी पुस २७ गतेभित्र सम्पन्न गर्ने सम्झौता छ। तर, निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट निकासामा ढिलाइ र मौसम प्रतिकूलताका कारण काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनी हिमालयन-कालिञ्चोक बीबीआर जेभीका अनुसार रङ्गशालाको संरचनातर्फको काम अन्तिम चरणमा पुगे पनि मैदान निर्माणमा अपेक्षित प्रगति हुन सकेको छैन। बेमौसमी वर्षाका कारण मैदानको काम प्रभावित भएको कम्पनीको भनाइ छ। निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न कठिन हुने देखिएपछि कम्पनीले थप छ महिना म्याद माग्ने तयारी गरेको छ।
रङ्गशाला निर्माणको पहिलो चरणको ठेक्का सुरुमा ७८ करोड ५० लाख रुपैयाँभन्दा बढीमा सम्झौता गरिएको थियो। निर्माणका क्रममा थप काम आवश्यक परेपछि भेरिएसन अर्डर स्वीकृत भएसँगै लागत बढेर करिब ८६ करोड २४ लाख रुपैयाँ पुगेको छ।
यता, भरतपुर महानगरपालिकाले भने निर्माण कम्पनीले म्याद थपको औपचारिक माग गरेमा सार्वजनिक खरिद ऐनअनुसार निर्णय गरिने जनाएको छ। महानगरले सकेसम्म निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माणलाई निरन्तरता दिन नसकेपछि रङ्गशालाको बाँकी काम भरतपुर महानगरपालिकाले अघि बढाएको हो। महानगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा निर्माण भइरहेको यस आयोजनाको पहिलो चरणमा १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डको मैदान, पिच, दुईवटा भीआईपी टावर र स्कोरबोर्डलगायतका संरचना निर्माण गर्ने लक्ष्य छ।
लामो समयदेखि प्रतीक्षामा रहेको रङ्गशाला निर्माणमा भइरहेको ढिलाइले नेपाली क्रिकेटप्रेमीको प्रतीक्षासमेत लम्बिने देखिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!